-
नमोबुद्ध संवाददाता
धुलिखेल, काभ्रे मंसिर २९ : काठमाडौ विश्वविद्यालयको २३ औ दिक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमबाट १ हजार ३ सय ४९ विद्यार्थी दिक्षीत भएका छन् । शुक्रबार धुलिखेलमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहकाबिच पिएचडी २१ जना, एमफिल ५१ जना, एमइ २५ जना, एमफार्म, एमटेक र एमएससी गरि ४५ जना, एमबिए र इएमबिए १०९ जना, एमए र एएड १२७ जना गरी स्नातकोत्तर तहमा ३८८ जना विद्यार्थीहरु दिक्षीत भएका हुन् । त्यस्तै दिक्षान्त समारोहमा बीईमा २२७ जना, बिफार्म, बिएससी र बिटेकमा १८८ जना, बिबिए, बिबिआइएस र बिएचटिएममा ३५० जना र अन्य विषयका १९६ जना स्नातक विद्यार्थीहरु पनि सहभागी भएका छन् ।
दक्ष जनशक्ति उत्पादनका दृष्टिले अब्बल शैक्षिक संस्था मानिएको केयुबाट ११ देशका २९ जना बिद्यार्थीहरु समेत दिक्षित भएको उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले जानकारी दिनुभयो ।
दिक्षान्त समारोहमा आउनुभएको विश्वविद्यालयको सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विभिन्न तहका विद्यार्थीहरुलाई दिक्षित गराउनुहुँदै दिक्षीत भएको विद्यार्थीहरु राष्ट्र निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । सवृद्ध नेपाल बनाउने काम हामी आफैंबाट सम्भव रहेको भन्दै शिक्षामन्त्री श्रेष्ठले ति कामममा लाग्न दिक्षीत विद्याथीहरुलाई आग्रह पनि गर्नुभयो ।
काठमाडौं विश्व विद्यालयबाट हालसम्ममा स्कुल अफ मेडिकल साईन्सबाट १२ हजार २३६ जना, स्कुल अफ ईञ्जिनियरिङबाट २ हजार ९२८ जना, स्कुल अफ साईन्सबाट २ हजार ५९० जना, स्कुल अफ एजुकेशनबाट १ हजार ३९ जना, स्कुल अफ आर्टस्बाट २ हजार ९७ जना र स्कुल अफ म्यानेजमेन्टबाट ४ हजार ९८३ जना स्नातकहरु दिक्षीत भईसकेका छन् । हालसम्ममा जम्मा २५ हजार ८७३ जना स्नातक गरेका विद्यार्थीहरु उत्पादन गरिसकेको उपकुलपति श्रेष्ठले जनाउनुभयो ।