•  नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे,मंसिर २५ : लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा काभ्रेका ग्रामिण भेगसम्म महिला हिंसा विरुद्धको वहस भईरहेको छ । महिला अधिकारसंग सम्बन्धीत विभिन्न संघसंस्थाले गाउँगाउँसम्म वहस गराउन सहजिकरण गरिरहेको देखिन्छ । यसक्रममा ‘शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल’ले सचेतीकरणका कार्यक्रमहरु जारी राखेको छ । यो पाली आदिवासी जनजाती महिला महासंघको समन्वयमा संकल्पले छलफल,अन्तरक्रिया तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु जारी राखेको संकल्पका कमला तामाङले जानकारी दिनुभयो ।

सोमबार जिल्लाको श्यामपाटीमा झण्डै ५० को हाराहारीमा महिलाहरुलाई सहभागी गराई सचेतीकरण कार्यक्रम सम्पन्न गरेपछि उहाँले भन्नुभयो–‘महिला भएकै कारण लैंगिक विभेदीकरणमा परेकाहरुको आवाज उठाउन सचेतीकरणका कार्यक्रम आवश्यक छ ।’

यिनै अवस्थालाई मध्यनजगर गर्दै आईतबार नयाँगाउँ मण्डन देउपुरमा पनि महिला हिंसा र तिनको व्यवहारिक समाधानबारे छलफल चलाएको जानकारी दिनुभयो । कुटपिट,बोक्सीको आरोप,दाईजोप्रथा,यौन दुराचार जस्ता घटनाहरुले महिला पिडित हुने गर्छन् । ‘जाँडरक्सीको बढि मात्रामा उपभोग गरिदा पनि झैझगडा हुन्छ । ’ काभ्रे तेमालकी वर्ष ५० की कान्छी तामाङले पिडा पोख्दै भन्नुभयो –‘जत्ति सम्झाउदा पनि मान्दैनन् ।’उहाँले जस्तै पिडा भोगेका र नभोगेका दुवै अवस्थाका महिलाहरु अचेल आफ्नो अधिकारको बारेमा छलफलमा सहभागि भएका देखिन्छन् ।

गाउँका महिलाहरुलाई महिला हिंसाबारे जानकारी दिने कार्यक्रम मात्रै गर्न सकेपनि उनिहरु कानुनी उपचारका लागि मनोवैज्ञानिक रुपमा तयार हुन सघाउने अधिकारकर्मी भोजराज तिमल्सीनाको तर्क छ । इन्सेक प्रतिनिधिसमेत रहनुभएका तिमल्सीनाले आफु काभ्रेका नयाँ गाउँ,श्यामपाटी जस्ता ठाउँहरुमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा पुगीसक्नुभएको छ । सामाजिक संरचना तथा बदनाम हुने डरले कतिपय हिंसाका घटना दर्ता तथा सार्वजनिक नहुने गरेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारका लागी विदेशिने युवा बढेसंगै पुरुष हिंसा पनि बढेको उहाँको भनाई छ । श्रीमती,बालबच्चा तथा घरपरिवारको सुनौलो भविश्यका लागि वषौं खाडीमा पसीना बगाएर घर फर्किदा विल्लीबार भएका घटनाहरु समेत देखिने गरेको उहाँले जानकारी दिनुभयो । महिला र पुरुषबिचको समझदारीबाट मात्र शान्तिपुर्ण परिवार र समाजको कल्पना गर्नसक्ने उहाँको अभिव्यक्ति थियो ।

प्रतिक्रिया दिनुहोस !