
-
नमोबुद्ध संवाददाता
धुलिखेल, काभ्रे, मंसिर २५ : जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि ६ ओटै सिटमा बाम गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बामगठबन्धनका तर्फबाट माओवादीका नेता गंगावहादुर दोङ (बम्ध्वज) निवर्तमान सांसद लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका तिर्थ लामालाई पराजित गर्दै विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६ सय ३१ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी तिर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै प्रतिनिधिसभा १ को (क) मा माओवादी केन्द्रका रत्न ढकालले बाजी मार्नुभयो । उहाँले २५ हजार १ सय ६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्ध्वन्दी सिवि लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा १ को (ख) मा २४ हजार ४ सय ४७ मत प्राप्त गरी नेकपा एमालेका चन्द्र लामा विजयी हुनुभयो । युवा संघका उपाध्यक्ष समेत रहनुभएका उहाँका निकटतम् प्रतिद्ध्वन्दी काँग्रेसका गणेश लामाले २० हजार २ सय ७० मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभा सदस्यमा एमालेका गोकुल बाँस्कोटाले जित हासील गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसका मधु आचार्यसंग १७ हजार ८ सय ४८ मतको फराकिलो मतान्तरले विजयी हुनुभएको हो । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत पाउँदा कांग्रेसका आचार्यको पक्षमा ३६ हजार ५ सय ७९ मत देखियो । त्यस्तै क्षेत्र नम्बर २ को (क) मा एमालेका लक्ष्मण लम्साल विजयी हुनुभयो । एमाले भातृ संगठन अनेरास्ववियुमार्फत राजनीतिक छवि बनाएका, विद्यार्थी आन्दोलनबाट खारिएका लम्साल २७ हजार ६ सय २१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँसंग चुनवी प्रतिस्पर्धामा उत्रनुभएका कांग्रेसका सुन्दरमणी आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गर्नुभयो । २ को(ख)मा एमालेकै बसुन्धरा हुमागाईले जित हात पार्नुभयो । उहाँले २८ हजार ६ सय ७३ मत ल्याई निवर्तमान सांसद तथा तत्कालिन उद्योग राज्य मन्त्री कञ्चनचन्द्र वादेलाई पराजित गर्नुभएको हो । वादेले २१ हजार ७ सय ५५ मत प्राप्त गर्नुभयो ।
मंसिर २१ गते जनताले दिएको मतका आधारमा निर्वाचित सांसदहरुलाई सोमबार औपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यलयले प्रमाणपत्र वितरण गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसैबिच बाम गठबन्धनले विशाल विजयी जुलुस तथा र्याली गरेको छ । सोमबार अपराह्न मत गणना स्थल धुलिखेलस्थीत शैक्षिक तालिम केन्द्रदेख बनेपासम्म विजयी जुलुस निकालिएको बाम गठबन्धन चुनाव परिचालन समितिका संयोजक टोक वहादुर वाईवाले जनाउनुभयो । वाजागाजा सहितको विजयी जुलुस तथा र्याली धुलिखेल हुदै बनेपा पुगी बनेपा बजार परिक्रमा गरी बसपार्कमा कोणसभाको आयोजना गरि समापन भयो । कोणसभामा सहभागि हजारौं मतदाता,शुभेच्छुक तथा कार्यकर्तालाई विजयी सांसदहरुले सम्बोधन गरेका छन् । उनीहरुले काभ्रेली जनताको विकासको आश्यकता तथा सवृद्धिका लागि आफुहरुले चुनाव अघि गरेका वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सबैभन्दा पहिले काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गर्ने बताएका छन् । साथै जनताले अनुभुति गर्नेगरी पाँच वर्षमा खानेपानी,सडक,विद्युत र रोजगारी सृजनामा उल्लेख्य काम गर्न सक्ने उनीहरुको भनाई थियो ।