- नमोबुद्ध संवाददाता
काठमाडौं– प्रतिनिधि सभामा २९ स्थानमा जित, ५२ स्थानमा अग्रतासँगै एमालेको सानदार विजययात्रा जारी छ । प्रदेशसभाका लागि ५१ स्थानमा जित निकाल्दै ८२ स्थानमा अग्रता लिएको एमाले एक्लैको सानदार बुहमत आउने विश्लेषणहरु हुन थालेका छन् ।
यस्तो छ देशभर एमालेको अवस्था
काठमाडौँ २ मा नेपाल
काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गर्नुभयो । विवेकशील साझा पार्टीका डा सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गर्नुभएको छ । कुल ५२ हजार १३५ मत खसेको थियो ।
ललितपुर क्षेत्र नं १ मा सिलवाल
ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले २० हजार ७२९ मत पाउनुभएको छ । यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो ।
कास्की २ मा एमालेका अधिकारी
कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभयो । जम्मा ७० हजार ६५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । नेता अधिकारीको यो विजय तेस्रोपटक हो ।
उहाँले २०६४ मा माओवादी नेता झलकपाणि तिवारीलाई पराजित गर्नुभएको थियो भने दोस्रोपटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गर्नुभएको थियो । विजयी भएसँगै नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अबको पाँच वर्ष समृद्धि र विकासलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गर्नुभयो ।
कास्की २ (क)मा एमालेका थापा
कास्की क्षेत्र नं २ को प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापा १५ हजार ३२९ मतसहित विजयी बन्नुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गुरुप्रसाद बरालले आठ हजार ३२५ मत प्राप्त गर्नुभयो । विजयी भएपछि थापाले चुनावका दौरानमा आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
खोटाङमा एमालेका भट्टराई
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गर्नुभयो । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद्समेत रहनुभएका भट्टराई एमाले बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ चैत २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीति शुरु गर्नुभएको थियो । २०३९ सालमा सोही विद्यालयमा स्ववियु सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौँको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
खोटाङको प्रदेश (क) मा एमालेका राई
जिल्लाको प्रदेशसभा क्षेत्र नं (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का राजन राई १८ हजार ९३३ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४११ मत ल्याउनुभएको छ ।
विसं २०३९ सालदेखि अनेरास्ववियू पाँचौँबाट राजनीतिक यात्रा शुरु गर्नुभएका राई हाल एमालेको बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।
दोलखाका सबै स्थानमा वाम गठबन्धन
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले सबै स्थानमा विजयी भएका छन् ।
प्रतिनिधिसभा एक र प्रदेशसभा दुई स्थानका लागि भएको निर्वाचनमा नेकपा (एमाले)का पार्वत गुरुङ ५५ हजार ९५४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का विशाल खड्काले २८ हजार ३५० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा सदस्य (ख) मा एमालेका पशुपति चौलागार्इंले २३ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशजराज चौलागार्इंले १० हजार ८८० मत प्राप्त गर्नुभयो ।
गुल्मी ः क्षेत्र नं २ प्रदेश ‘क’ मा एमाले
प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा नेकपा (एमाले) का खड्ग केसी विजयी हुनुभएको छ ।
केसीले १६ हजार १६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार ६७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिनुभयो ।
दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
भोजपुर प्रदेश (ख) मा राई
भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी हुनुुभएको छ ।
राईले २० हजार ३३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गर्नुभएको हो ।
प्रदेश (ख)मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचथर एमालेका वसन्त नेम्बाङ
पाँचथर, २३ मंसिर ः प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी हुनुभएको छ ।
नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गर्नुभएको हो ।
कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए ।
यसैगरी संघीय समाजवादी फोरमका प्रेमराज लावतीले एक हजार ९९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान्का सागर केरुङले एक हजार ५९३, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४१८ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै, नेकपा मालेका दीनानाथ घिमिरेले ८९०, नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २९५ र मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १९४ मत पाउनुभएको छ ।