
- नमोबुद्ध संवाददाता
धुलिखेल,१८ मंसिर : माओवादी केन्द्रको तर्फवाट बाम गठबन्धनका काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर एकको प्रदेश सभा (क) का उम्मेदबार रत्न ढकालले निर्वाचन विथोल्ने र भड्काउने षडयन्त्र भएको भन्दै विशेष चनाखो हुन प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ । काभ्रेको डाँडापारी,रोशी,तिमाल,कोशीपारी र नमोबुद्धका आफ्ना वडामा घरदैलो कार्यक्रम गरिसक्नुभएका ढकालले शान्तिपुर्ण र भयरहित वाताबरणमा जनतालो वालिग मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।
रेडियो नमोबुद्धको विहानी प्रस्तुति “नमोवुद्ध डबली”मा बोल्नेक्रममा जिल्लाका दर्जनौ मतदानस्थल अति संवेदनशील रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । आफ्ना प्रतिस्पर्धी उम्मेद्वारका कार्यकर्ताबाटै सुरक्षा खतरा रहेको उहाँको आरोप छ । उहाँले भन्नुभयो “हामी शान्तिपुर्ण प्रतिस्पर्धामा उत्रेका छौं,प्रतिस्पर्धी साथीहरु हामी जस्तै संयम हुन जरुरी छ ।”
विसौं वर्ष काँग्रेसले राज्य चलाएकै कारण मुलुकले काँचुली फेर्न नसकेकोको दावी गर्ने उहाँले जनताले अब बाम पार्टीलाई अभिभारा दिने विश्वास व्यक्त गर्नुभयो । “स्वतन्त्र र स्वच्छ तवरले चुनाव गराउनु छ, काभ्रेली जनता हाम्रै पक्षमा छन् ।” उहाँको दाबी छ ।
आफूहरु निश्पक्ष र धाँधलीरहित निर्वाचनको व्यग्र पर्खाईमा रहेको उहाँको भनाई छ । निर्वाचन सम्पन्न भएका जिल्लावाट अत्याधुनिक हतियार सहितको समूह काभ्रे भित्रिएको सूचना आफुले पाएकाले निर्वाचन विरोधी गतिविधि हुन नदिन पत्रकार र प्रशासनले चनाखो हुनुपर्नेमा उहाँको जोड छ ।
“बाम गठवन्धनको बलियो आधार रहेका काभ्रेका बुथहरुमा बाहिरी जिल्लावाट अत्याधुनिक हतियार सहितको समूह परिचालित हुन लागेको सूचना पाएका छौं, प्रशासन चुप लागेर बस्यो भने हामी सहने वाला छैनौं ।”
उहाँले काभ्रेमा बाम गठवन्धनको बलियो आधार रहेका बुथहरुमा बाहिरी जिल्लावाट आएका अत्याधुनिक हतियार सहितको समूह परिचालित हुन लागेको पनि सूचना पाएको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो –“ती समूहहरुवाट निर्वाचन भडकाउने र विथोल्ने यदि त्यस्तो परिस्थिती भयो भने त्यसले जनताको मौलिक अधिकार हनन् हुने हुँदा जो उनीहरुको मताधिकारको रक्षा गर्न पाउने संबिधानले दिएको अधिकारवाट बञ्चित हुन नदिन प्रशासनले ध्यान दिओस् । प्रशासनले त्यस्ता समूहहरुलाई पहिचान गरि काम कारवाही अघि बढाउदैन भने हामी चुप लागेर बस्दैनौं ।” उहाँले चेतावनी दिनुभयो–“बाम गठवन्धनले पनि युवा संघ र बाईसीएल परिचालन गरेर त्यस्तो समूहलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ ।”
उहाँले निर्वाचनमा काभ्रेमा लोकतान्त्रिक गठवन्धनका नेतासँग खटिने केही युवाहरुमा अत्याधुनिक हतियार समेत रहेको सुूचना आएको भन्दै बेलैमा प्रशासनले यो बारेमा खोजतलास गर्नुपर्ने माग पनि गर्नुभएको छ । उम्मेदबार ढकालले मंसिर २१ गतेपछि देशमा बामपन्थीको सरकार आउने र त्यो सरकारले देशमा अराजकता मच्चाउने, जनतालाई तर्साउने, धम्काउनेहरुलाई कसरी ठिक गर्नुपर्छ भन्ने कुराको जवाफ दिने पनि स्पष्ट पार्नुभएको छ । उहाँले लोकतान्त्रिक गठवन्धनमा रहेर कांग्रेसलाई भोट हाल्ने साथीभाईलाई पनि जनतालाई आतंकित बनाएर हिडने कार्य बन्द गर्नको निम्ति पनि अनुरोध गर्नुभएको छ ।