• नमोबुद्ध संवाददाता

मंगलबारे, इलाम, १८ मंसिर : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बम आतंक फैलाउनेलाई मुसाको संज्ञा दिनुभएको छ ।

फिक्कलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुलोभित्र बसेर सकेट बम जस्तो कागजी बम पड्काई नेता र जनताको ज्यान लिएर क्रान्ति सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयोे, “तिमीहरू कुनामा बस्ने मुसाभन्दा केही पनि हैनौ । दुलोभित्र बसेर मानिसहरूलाई तर्साउने, नेताहरूलाई तर्साउने कुनै व्यक्तिको ज्यान लिएर कस्तो क्रान्ति हुन्छ ?”

प्रतिनिधिसभा सदस्य उम्मेदवार खनालले अर्काे प्रसङ्गमा साझा बस, बाँसबाँरी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, चिया बगान, वीरगञ्ज कृषि औजार कारखानाजस्ता उद्योग र संस्थान निजीकरणमा नाममा कांग्रेस सरकारले कौडीको मूल्यमा बेचेको आरोप लगाउँदै समाजवाद स्थापनाका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।

बम आक्रमणबाट विचलित हुँदैनौँःबस्नेत

पूर्वउद्योगमन्त्री एवं नेकपा(एमाले)का युवा नेता महेश बस्नेतले चुनावमा बम आक्रमण गरी आतंक फैलाउने षड्यन्त्रकारीबाट कोही पनि विचलित नहुने बताउनुभएको छ ।
वाम गठबन्धनले आज स्थानीय कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका उहाँले चुनाव भाँड्ने षड्यन्त्र अब सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार चुनावीसभा र चुनाव प्रचारका क्रममा बम आक्रमण भइरहेको छ, नेताको घर र गाडीमा समेत बम राखेर आतंकित पार्ने प्रयास भइरहेको छ, हिजो (आइतबार) राति मेरो घरको गेटमा समेत बम राखियो, यस्ता आतंकित पार्ने कार्य कायरताको उपज हो ।”

उहाँले चुनावमा मतदान गर्न मतदाता व्यग्र भएको र उम्मेदवारहरु पनि अन्तिम प्रचारमा जुटेको बताउँदै बम आक्रमणले मतदाता र उम्मेदवार विचलित नभई चुनाव सफल पार्ने विश्वास व्यक्त गर्नुभयो ।

बस्नेतले आफू भक्तपुरका जनताको गोठालो भएर चुनावी मैदानमा आएको बताउँदै चुनाव जितेमा जिल्ल्लाको विकासमा जीवन अझै समर्पण गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार शशीजंग थापाले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !