• नमोबुद्ध संवाददाता

काठमाडौँ, १८ मंसिर : चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ ।
बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा चोट लागेको छ । बम प्रहारबाट छ जना काँग्रेस कार्यकर्ता पनि घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

 आक्रमणको वाम गठबन्धनद्वारा निन्दा

वाम गठबन्धनले नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापामाथि आज भएको आक्रमणको भत्र्सना गरेको छ ।

गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ४ चुनाव प्रचारप्रसार समितिका संयोजक धर्मदत्त देवकोटा र सहसंयोजक सुन्दर पुर्कुटीले आज संयुक्त विज्ञप्ति जारी शान्तिपूर्ण मत माग्न गएका उम्मेदवारमाथि आक्रमण गरिनु कायरताको उपज भएको बताउनुभएको हो । सोही क्षेत्रका थापामा प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार डा राजन भट्टराईले पनि आक्रमणको निन्दा गर्नुभएके छ । डा भट्टराई थापालाई भेट्न अस्पताल पुग्नुभएको थियो ।

गठबन्धनले थापा र अन्य घाइते नेता कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । गठबन्धनले भनेको छ “आज बूढानीलकण्ठ– २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रम गरिरहेका नेता थापा र केही कार्यकर्ता आक्रमणमा परी घाइते भएकामा हामी दुःखी भएका छाँै, हामी यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछौँ साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ” ।

काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी चुनावी प्रचारप्रसारका क्रममा बुढानीलकण्ठ वडा नं २ चपलीको घरदैलो कार्यक्रममा हिँडिरहेको बेला अज्ञात समूहले काठमाडौँ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाप्रति बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रलाई समाप्त पार्ने ढंगले काँग्रेस र लोकतन्त्रको पक्षमा उर्लंदो जनसागरबाट अत्तालिएर दिनानुदिन काँग्रेसका नेता तथा कार्यकर्तामाथि लक्षित गरेर यस्ता घटना घटाइएको हो ।”

काँग्रेसले आफ्ना उम्मेद्वार र कार्यकर्तामाथि हत्या गर्ने मनशायले यस्ता घटना गराएको भन्दै भत्र्सना गरेको छ । यस्ता घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग मागसमेत गरिएको छ । घटनामा थापासहित धुव्र खड्का, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, पुष्पबहादुर श्रेष्ठ, राधिका कार्की, काशीलाल श्रेष्ठ, रोशनराम थापा र रिमा बस्नेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस !