
- नमोबुद्ध संवाददाता
मंगलबारे, इलाम, १६ मंसिर : पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै शुक्रबार बम विस्फोट भएको छ ।
खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
विस्फोटबाट कुनै क्ष्ति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताउनुभयो ।
प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५÷२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वरिष्ठ नेता खनालमाथिको आक्रमणको निन्दा
काठमाडौँ, १६ मंसिर : नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य इलाम–१ का उम्मेदवार झलनाथ खनाललाई लक्षित गरी बम प्रहार भएकामा चिन्ता व्यक्त गरेको छ ।
निर्वाचन प्रचारका क्रममा रहनुभएका नेता खनाललाई इलाम सूर्याेदय नगरपालिका–३ तीनखुट्टेमा आक्रमण गरिएकामा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज विज्ञप्ति जारी गरी निन्दा व्यक्त गरेको हो ।
विभिन्न नेता र उम्मेदवारमाथि हमलाको शृंखला बढ्नुले सुरक्षामा प्रश्न उत्पन्न भएको जनाउँदै कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा सुरक्षा प्रत्याभूतिको माग गरिएको छ ।