- नमोबुद्ध संवाददाता
काठमाडौँ, २६ कात्तिक ः महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गर्नुभयो । उहाँले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल खुल्ला गरिएको बताउनुभयो ।
सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी उनीहरुका आफन्त, आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले दिउँसो एक देखि ३ बजेसम्म ओपिडी सेवा सर्वसाधारणका लागि दिइने बताउनुभयो । उहाँले अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्याथोलोजी, ल्याब, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
प्रहरी अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को पर्चा काट्नुपर्छ । औषधि, भर्ना हुने बिरामीका लागि खाना कसरी के गर्ने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टुंगो लगाउने बताइएको छ ।
तत्कालका लागि आठ शैय्या आकस्मिक बिरामीका लागि, १०÷१० शैय्या महिला पु्रुषका लागि र ४ शैय्या शल्यक्रियापछि राख्नका लागि छुट्याइएको छ ।
विस २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरी अस्पताल आम नागरिकका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीर परिवारलाई मात्र सेवा दिँदै आएको थियो ।
उक्त अस्पतालमा दैनिक ५०० देखि हजार बिरामीले बहिरङग विभागमा उपचार गराउँदै आएका छन् भने १५० बिरामीले भर्ना भएर उपचार सेवा लिन्छन् । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालहरुमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाएको छ ।