काठमाडौँ, २३ कात्तिक, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले आगामी मंसिरमा हुने निर्वाचनले देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नपा–९ स्युचाटारमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा पूर्वाधार विकास तथा आर्थिक समृद्धि कायम गर्न सरकारको स्थायित्वको खाँचो औँल्याउँदै त्यसका लागि संयुक्त वाम गठबन्धनको औचित्यलाई जनताले निर्वाचनमा पुष्टि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक रुपले पिछडिएका क्षेत्र, वर्ग, अल्पसंख्यकलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै एमालेको नेतृत्वमा वाम सरकार गठन भएपछि पिछडिएको वर्गको उत्थानका लागि विभिन्न आर्थिक परियोजनाका कार्यक्रम ल्याउने बताउनुभयो । प्रत्येक वडामा १० श्ययाको अस्पताल निर्माणको योजना रहेको उहाँको भनाइ थियो ।
प्रदेश नं (ख) का उम्मेदवार केशवप्रसाद पोखरेलले संयुक्त वाम गठबन्धनका विरुद्ध अनेक खालका षडयन्त्र शुरु हुन थालेकामा त्यसतर्फ चनाखो हुन आग्रह गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार सुभद्रा भुजेलले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गरी पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।