काठमाडौं । सरकारले नियुक्त गरेको एक वर्ष नबित्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलको अर्को राजनीतिक दौड सुरु भएको छ । कांग्रेसको कोटाबाट गत पुसमा प्राधिकरणको सीईओमा नियुक्ती पाएका पोखरेल नौ महिनापछि अर्को आकर्षक सुविधातिर लालायित भएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति प्युठानले सीईओ पोखरेललाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गरेको छ । सीईओ पोखरेललाई जिल्लाले सर्वसम्मत सिफारिस गरेको छ ।

 

कांग्रेस जिल्ला सचिव देवेन्द्र बर्माले सीईओ पोखरेल प्यूठानबाट आगामी प्रतिनिधिसभा चुनावमा सर्वसम्मत सिफारिस भएको जानकारी दिए । कांग्रेस जिल्ला समिति बैठकले गत मंगलबार डा. पोखरेललाई प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको उनले बताए ।

‘प्यूठानका सबै स्थानीय तह र दुवै निर्वाचन क्षेत्रबाट उहाँको मात्र नाम सिफारिस भएर आएको छ,’ जिल्ला सचिव शर्माले भने, ‘सोही आधारमा उहाँको नाम सर्वसम्मत सिफारिस गरेर केन्द्रमा पठाएका छौं ।’

प्यूठानमा एउटा केन्द्रीय निर्वाचन क्षेत्र, दुई वटा प्रादेशिक निर्वाचन क्षेत्र, सात वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । ‘सबै स्थानीय तह र निर्वाचन क्षेत्रबाट सर्वसम्मत र एक मात्र उम्मेदवारको रुपमा उहाँको नाम आएपछि सर्वसम्मत निर्णय गरेर केन्द्रमा पठाएका छौं,’ जिल्ला सचिव बर्माले भने, ‘जिल्लाको सिफारिसका आधारमा निर्णय गर्ने जिम्मा अब केन्द्रको हो ।’

आगामी प्रतिनिधिसभा निर्वाचनमा सीईओ डा. पोखरेल प्यूठानका बासिन्दाको एक मात्र चाहना भएको दाबी बर्माको छ ।

प्रतिक्रिया दिनुहोस !