१२३ औँ विश्व मजदुर दिवस २०१२ का अवसरमा प्रधानमन्त्री डा।बाबुराम भट्टराईले नेपालको अन्तरिम संविधानले श्रमिकहरुलाई सङ्गठित हुने अधिकार दिनुका साथै उनीहरुको आधारभूत अधिकारको प्रत्याभूति गरेको छ भन्नुभएको छ।
सन्देशमा भट्टराईले राज्यका विभिन्न संयन्त्र तथा निकायहरुमा श्रमजीवी वर्गको सहभागिता सुनिश्चित नभएसम्म मुलुकले विकासको गतिमा फड्को मार्न नसक्ने बताउनुभएको छ। तसर्थ, नयाँ संविधानमा समेत श्रमिकका अधिकार, नीति निर्माण एवम् कार्यान्वयनको तहमा प्रतिनिधित्वको प्रत्याभूति गर्न जरुरी रहेको उल्लेख गर्नु भएको छ।

श्रम शक्तिको रुपमा रहेका अथाह युवा जनशक्तिलाई पर्याप्त रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा मुलुकको विकासमा समाहित गराउन सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री डा। भट्टराईले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारहरुको हक, अधिकार र सुविधा सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो भन्नुभएको छ ।
यसैगरी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले यस अवसरमा दिनुभएको शुभकामना सन्देशमा मजदुरको समस्या समाधान गरेर मजदुर वर्गको हक र हितको सम्बद्र्धन गर्ने सम्बन्धमा आप्mनो पार्टी सदैव सचेत भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ। विसं २०१६ मा नेपाली काँग्रेसको जननिर्वाचित सरकारले नै कारखाना मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरहरुलाई कानुनसम्मत् अधिकार प्रदान गरेको सन्देशमा उल्लेख छ।
एक युगान्तकारी परिवर्तनसँगै मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियालाई अविलम्ब निष्कर्षमा पु¥याई दिगो शान्ति बहाली गर्ने र तोकिएकै मितिमा लोकतान्त्रिक संविधान निर्माण गरी राजनीतिक स्थायित्व प्राप्त गर्न सबै राजनीतिक दलहरु संवेदनशील हुन तथा आपसी एकता, मेलमिलाप एवम् पारस्परिक सद्भाव, सहयोग र सहकार्यलाई अघि बढाउन आग्रह गर्नुभएको छ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पनि छुट्टै शुभकामना सन्देशमार्फत नेपाली मजदुरहरुले गरेको कठोर सङ्घर्षको फलस्वरुप राजनीतिक अधिकारहरु प्राप्त गरे पनि अपेक्षाकृत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु प्राप्त गर्न नसकेको स्वीकार्नुभएको छ।

पूँजीको यथोचित विकास नहुँदा मजदुरहरुले प्राप्त गर्ने न्यूनतम् ज्याला र अन्य सुविधाहरुसमेत प्राप्त गर्न नसकेको स्थिति विद्यमान रहेको बताउँदै उहाँले सन्देशमा देशको निर्माण गर्ने मजदुरको यस्तो दयनीय अवस्था रहनु देशको कहालीलाग्दो अवस्थाको एक झलक हो, यस्तो कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउन वर्तमान सङ्क्रमणकाललाई सकारात्मक निष्कर्षमा पुर्‍याएर सामूहिक प्रयासबाट नयाँ नेपालको निर्माण गर्नु बाहेक हामीसँग अरु कुनै विकल्प छैन भन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस !