काठमाडौ, वैशाख २३ – पाँच वर्षअघि फाइनल खेलेको पुलिसले दुईपल्टको च्याम्पियन डोरडोई बिस्केकविरुद्धको खेलसँगै एएफसी प्रेसिडेन्ट्स कप यात्रा नोमपेनमा शनिबार सुरु गर्दैछ ।
किर्गिस्तानको डोरडोई चारपल्टको उपविजेता पनि हो । त्यसैले समूह ‘बी’ मा उसलाई सबैभन्दा बलियो मानिएको छ । यस्तोमा पुलिसले डोरडोईलाई बराबरीमा रोक्दै अंक बाँड्ने योजना बनाएको छ । ‘डोरडोई प्रेसिडेन्ट्स कपकै उत्कृष्टमा पर्ने क्लब हो । त्यसैले बराबरी गर्दै अर्को खेलमा सफलता हात पारेर फाइनल चरणमा स्थान बनाउने लक्ष्य छ,’ पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने ।
एक साताअघि बि्रटिस गोर्खा कप च्याम्पियन भएको पुलिस र डोरडोई यसअघि तीन खेलमा आमनेसामने भएका थिए । तीनैमा डोरडोईले बाजी मारेको थियो । ‘तीनै खेल आफ्नै गल्तीले हारेका थियौं,’ श्रेष्ठले भने, ‘त्यसैले त्यसको बदला यसपल्ट लिन चाहन्छौं ।’
तेस्रो संस्करण-२००७ मा समूह चरणको दोस्रो खेलमा ३-० ले पुलिस चुकेको थियो । लाहोरमा पुलिस रसियन ब्लकबाहिरको पहिलो क्लब भएको थियो । फाइनलमा उही डोरडोईसँग २-१ ले हारेपछि पुलिसको अन्तर्राष्ट्रिय क्लब फुटबलको उपाधि जित्ने सपना तुहिएको थियो । सन् २००८ मा डोरडोईकै घरेलु भूमि बिस्केकमा भएको सेमिफाइनलमा पुलिस ३-१ ले चुकेको थियो ।
त्यसैले पछिल्ला संस्करणका तीनै खेलमा गोल गर्न नसकेको स्थिति तोड्दै पुलिस डोरडोईविरुद्ध लगातारको हार यात्रा रोक्न चाहन्छ । योजना सार्थक तुल्याउन पुलिसलाई सहज भने छैन ।
किर्गिस्तानको राष्ट्रिय टिमका १५ खेलाडी समावेश डोरडोईविरुद्ध जुमनु राई नोमपेनको ओलम्पिक स्टेडियमको मैदानमा नओर्लने पुलिसका प्रशिक्षक श्रेष्ठले
बताए । बि्रटिस गोर्खा कप खेल्ने क्रममा खुट्टामा लागेको चोटबाट मुक्त नभएकाले उनी मैदानबाहिरै हुनेछन् । उनले तेस्रो संस्करणमा ३ र चौथोमा ५ गोल गरेका थिए ।
स्टार फरवार्ड भरत खवासले क्लब छाडेको स्थितिमा पुलिसको अग्रपंक्ति योगेश श्रेष्ठ र भोला सिलवालले सम्हाल्नेछन् । दुवै मिडफिल्डर हुन् । र, उनीहरू फरवार्डको भूमिका निभाउन
पनि योग्य रहेको प्रशिक्षक बताउँछन् । दुवैले बि्रटिस गोर्खा कपमा पनि पुलिसको आक्रमण सम्हालेका थिए । जुमनुको अनुपस्थितिमा दीपेन्द्र पौडेलले पुलिसको कप्तानी गर्नेछन् ।
डोरडोईविरुद्ध पुलिसलाई नेपाली राष्ट्रिय टिमका गोलकिपर रितेश थापा, डिफेन्डर रविन श्रेष्ठ र
भोलाको साथ हुनेछ । चार महिनाअघि भएको राष्ट्रिय ‘ए’ डिभिजन लिग र पछिल्ला तीनपल्टको सहिद स्मारक
लिग च्याम्पियन पुलिसमा जुनियर खेलाडीको वर्चस्व
छ । उनीहरूले क्षमताअनुसार खेल पस्केमा डारेडोईसँग अंक हात पार्ने श्रेष्ठको आस छ ।
चार विदेशी खेलाडी समावेश डोरडोईका प्रशिक्षक सेर्गई डिभोरयन्कोभले पुलिसलाई सहज प्रतिद्वन्द्वी मान्न इन्कार गरे ।
‘विगतका तीनै खेलमा पुलिसले कठिन चुनौती पस्केको थियो । सबै खेल जितेका
थियौं । तर त्यो इतिहास हो । त्यसैले उसलाई सहज मान्ने भूल गर्ने छैनौं,’ सेर्गईलाई उद्धृत गर्दै वेबपेजहरूले लेखेका छन् ।
एसियाली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगितामा डोरडोईलाई व्यावसायिक टोली मानिन्छ । सन् २००७ को प्रेसिडेन्ट्स कप खेलेका रितेश थापा, राकेश श्रेष्ठ, दीपेन्द्र पौडेल, रविन श्रेष्ठ, पर्वत पाण्डे, जुमनु राई र रोशन कार्की पुलिस टिममै छन् । यस्तोमा पुलिसले शीर्ष दुईमा रहँदै फाइनल चरणमा छनोट हुने लक्ष्य राखेको छ ।
प्रेसिडेन्ट्स कपको पाँचौं सहभागितामा पुलिसको अन्य प्रतिद्वन्द्वी हुनेछन्, नोमपेन क्रउन र यिदजन । कम्बोडियाको नोमपेन गत वर्षको उपविजेता हो । पुलिसले नोमपेनसँग सोमबार खेल्नेछ । भुटानको लिग च्याम्पियन यिदजनविरुद्ध पुलिस बुधबार भिड्नेछ ।
सम्भावित पुलिस टिम
गोलकिपरः रितेश थापा
डिफेन्सः सुमन सुवेदी, सुरज विक, दीपेन्द्र पौडेल, रोशन कार्की
मिडफिल्डः पर्वत पाण्डे, रमेश कटुवाल, भरत शाह, दिलीप राई
फरवार्डः भोला सिलवाल र योगेश श्रेष्ठ
प्रशिक्षकः विराटकृष्ण श्रेष्ठ ।