• लोक बहादुर लामा

काभ्रेपलाञ्चोक–प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आउँदो मंसिर ५ र ६ गते रोशी–७ कटुनजेस्थित रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित प्रतियोगिता रोशी गाउँपालिकाको सहयोगमा विश्व स्वतन्त्र क्योकुशिन संघ नेपाल (डब्लु आइ के ओ) को आयोजनामा हुने भएको हो ।

प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका प्रमुख तथा खेल प्रशिक्षक डिल दोर्जे लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता मंसिर ५ गते बिहान ११ बजे शुभारम्भ भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो तथा अन्तिम दिनको प्रतियोगिता मंसिर ६ गते बिहान ८ बजेदेखि शुरु गरी दिउँसो २ बजेसम्म सञ्चालन गरी समापन समारोह आयोजना गरिनेछ ।

प्रतियोगिताका लागि काठमाडौं, मकवानपुर, काभ्रेको रोशी र तेमाल क्षेत्रका साथै नेपालमा प्रशिक्षणरत भारतीय खेलाडीहरू समेत गरी हालसम्म १५० जना खेलाडीको फर्म प्राप्त भइसकेको आयोजक संस्थाका प्रमुख लामाले बताउनुभयो ।

प्रतियोगितामा फाइट र काता गरी दुई विधामा प्रतिस्पर्धा गराइने उहाँले उल्लेख गर्नुभयो ।

फुल–कन्ट्याक्ट फाइट पुरुष समूहतर्फ ३० केजी मुनि, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी मुनि वजनमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला वजन समूहतर्फ ३५ केजी, ४० केजी, ४५ केजी मुनि, ५५ केजीभन्दा माथिका खेलाडीहरु भिड्नेछन् ।

हरेक समूहमा कम्तीमा ८ देखि ३२ जना खेलाडी सहभागी गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार खेलाडीलाई तोकेको तौल समूहअनुसार मात्र प्रतिस्पर्धा गराइने छ ।

यसका साथै काता विधामा पनि पुरुष र महिलालाई अलग–अलग समूह बनाएर प्रतिस्पर्धा गराइनेछ । कातामा छुट्टै खेलाडी सहभागी हुनेछन् भने फाइटरहरूले पनि कातामा भाग लिन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकायसँग समन्वय, मेडिकल टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको आयोजक संस्थाका प्रमुख डिल दोर्जे लामाले स्पष्ट पार्नुभयो । खेलाडीको स्वास्थ्य सुरक्षा प्राथमिकतामा राखेर व्यवस्थित रुपमा प्रतियोगिता सञ्चालन गर्न लागेको उहाँको भनाई छ ।

प्रतियोगितामा ४८ जना खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । त्यसैगरी ४५ केजीभन्दा माथिका समूहका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजक विश्व स्वतन्त्र क्योकुशिन संघ नेपाल (डब्लु आइ के ओ) ले यसअघि पालिका कप २ पटक, जिल्ला स्तरीय प्रतियोगिता १ पटक र नेपाल–भारत (इन्टो नेपाल कप) १ पटक सफलतापूर्वक आयोजना गरिसकेको छ ।

सन् २०७२ सालदेखि डोजो स्थापना गरी उक्त संस्थाले हालसम्म तेमाल, नमोबुद्ध, रोशी, ललितपुर र मकवानपुरका विभिन्न स्थानमा डोजो शाखा विस्तार गरि सकिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !