• लोक बहादुर लामा

काभ्रेपलाञ्चोक–प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको रोशी–७ कटुनजेस्थित रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहका बीच रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष लामाले पछिल्लो समय प्रत्येक वर्ष झैं रोशीको पहिचान, युवा विकास तथा एकताका लागि खेल गतिविधिहरु हुदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले रोशी गाउँपालिकाले प्रत्येक वर्ष खेलकुद नीति, कार्यक्रम तथा बजेट निर्माण गरी कार्यन्वयन गर्दै आएको उल्लेख गर्दै खेलकुदको विकासमा स्थानीय सरकार कटिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो,–‘कुनै खेल गर्छौं भनेर गाउँपालिकामा आएका क्लवहरुलाई हाीले सक्दो सहयोग गर्दै आएका छौं । यसको अर्थ खेलकुदका माध्यमबाट रोशीका बालबालिका, युवाहरुले आफ्नो व्यक्तित्वको विकास गरुन् भन्ने हाम्रो उद्धेश्य हो ।’

गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा(ज्वाला)ले रोशीका बालबालिका तथा युवा जमात आफूलाई रुचि रहेको कुनै न कुनै खेलमार्फत संगठित भइ रचनात्मक क्रियाकलापमा सहभागि हुने विश्वास व्यक्त गर्नुभयो । बालबालिका तथा युवा जमातलाई उर्जाशील, सिर्जनात्मक बनाउन यस खालको प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उहाँले गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगिताका आयोजक विश्व स्वतन्त्र क्योकुशिन संघ नेपाल (डब्लु आइ के ओ) का प्रमुख एवम् खेल प्रशिक्षक दिल दोर्जे लामाले बालबालिका तथा युवालाई अनुशासित, स्वस्थ, स्फूर्ति बनाउन यस खालको खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता रोशी गाउँपालिकाको मुख्य सहयोग तथा अन्य विभिन्न संघसंस्थासँगको सहकार्यमा गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा काभ्रेको रोशी र तेमाल क्षेत्रका साथै काठमाडौं, ललितपुर, मकवानपुरका साथै मधेश प्रदेशका जिल्ला, नेपालमा प्रशिक्षणरत भारतीय खेलाडीहरू समेत गरी करीव १ सय ६० खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

पहिलो दिनको फुल कन्ट्याक्ट फाइट विधातर्फ भएको प्रतिस्पर्धामा उत्रिएका ति खेलाडीहरुमध्ये सेमीफाइनल ९६ जना तथा क्वाटर फाइनल हुदै दोस्रो दिन भोली फाइनल प्रतिस्पर्धामा छानिएका छन् ।

मंसिर ६ गते शनिबार विहान ८ बजेदेखि हुने खेलबाट पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको टुंगो लाग्ने साथै दिउँसो २ बजेपछि समापन गरिने आयोजक संस्थाका प्रमुख दिल दोर्जे लामाले जनाउनुभयो ।

फुल–कन्ट्याक्ट फाइट पुरुष समूहतर्फ ३० केजी मुनि, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी मुनि वजनमा, महिला वजन समूहतर्फ ३५ केजी, ४० केजी, ४५ केजी मुनि, ५५ केजीभन्दा माथिका खेलाडीहरु प्रतिस्पर्धामा रहेका हुन् ।

प्रतियोगितामा फाइट र काता गरी दुई विधामा प्रतिस्पर्धा गराइने आयोजक संस्थाका प्रमुख लामाले बताउनुभयो ।

प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकायसँग समन्वय, मेडिकल टिम परिचालन गरिएको छ ।

प्रतियोगितामा विभिन्न विधातर्फका ४८ जना खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । त्यसैगरी ४५ केजीभन्दा माथिका समूहका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

भिडियो र फोटो फिचरसहित

प्रतिक्रिया दिनुहोस !