अनिल गुरुङ पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भएपछि पुलिस चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीको चुनौती समाप्त पार्दै पहिलोपल्ट बि्रटिस गोर्खा कप फुटबलको फाइनलमा बिहीबार प्रवेश गरेको छ । उसले मेगा थ्री-स्टारविरुद्ध शनिबार फाइनल खेल्नेछ ।

अफ्रिकी मूलका मिडफिल्डर एडेवाबे ज्याकोबले प्रहार गरेको बल पेनाल्टी क्षेत्रमा रहेका पुलिसका डिफेन्डर दीपेन्द्र पौडेलको हातमा लागेपछि रेफ्री सचिन अमात्यले मनाङलाई पेनाल्टीको अवसर दिएका थिए । २२ औं मिनेटमा प्राप्त सुन्दर मौकामा अनिलले प्रहार गरेको बल पुलिसका गोलकिपर रितेश थापाले फर्काउँदै मनाङलाई अग्रता लिनबाट वञ्चित गरेका थिए ।

‘पेनाल्टीमा गोल हान्नेमा ढुक्क थिएँ,’ फरवार्ड अनिलले भने, ‘मैले प्रहार गर्नुअघि नै रितेशले डाइभ हानिसकेका थिए । त्यसैले सीधै बल प्रहार गर्दा गोल हुने ठानें । र, प्रहार गरेको बल रितेशकै नियन्त्रणमा पर्न गयो ।’ मनाङका कार्यवाहक प्रशिक्षक देवेन्द्रजंग शाहीले पेनाल्टीका चुक्नु नै दुर्भाग्य भएको बताए । ‘गोलका अन्य मौकामा पनि चुक्यौं । रितेश र पुलिसले राम्रो खेल्यो,’ उनले बताए ।

अघिल्ला दुवै संस्करणको उपविजेता मनाङ पेनाल्टीमा अग्रता लिन चुकेको ५ मिनेट नबित्दै पुलिसले काउन्टर एट्याकमा गोल गर्दै १-० को अग्रता लियो । डिफेन्डर सुरज विकले पास दिएको बललाई तीव्र गतिमा अघि बढाउँदै योगेश श्रेष्ठले जाली चुमाएका थिए । अन्ततः त्यही गोल निर्णायक बन्यो  । र, पुलिस तेस्रो प्रयासमा पहिलोपल्ट बि्रटिस गोर्खा कपको फाइनलमा स्थान निश्चित गर्दै कम्तीमा ५ लाख रुपैयाँ पक्का गर्‍यो । विजेताले १० लाख पाउनेछ ।

पहिलो संस्करण २०६६ मा पुलिस क्वाटरफाइनलमा थ्री-स्टारसँग २-१ हारेको थियो । दोस्रो संस्करण २०६७ मा पुलिस सडनडेथमा मनाङसँग सेमिफाइनलमा चुकेको थियो । त्यसयता मनाङसँग पुलिस जितबाट वञ्चित हुँदै आएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको भेटमा मनाङ १-० ले विजयी भएको थियो । त्यसले राजधानीको लिगमा अपराजित यात्रालाई ४९ खेलमै पूर्णविराम लगाइदिएको थियो । ‘ए’ डिभिजन राष्ट्रिय लिगमा भने गोलरहित खेले ।

दुवै लिगमा पुलिस च्याम्पियन भयो । चैत १५ मा धरानमा भएको बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा मनाङले पुलिसमाथि ३-० को जित रचेको थियो । यी पछिल्ला हारको बदला पुलिसले यसपल्ट लिएको छ । कठिन प्रतिद्वन्द्वीविरुद्धको जित सहज भने रहेन ।

उपाधि जित्न व्यग्र

‘बि्रटिस गोर्खा कपको उपाधि जित्ने एकदमै इच्छा छ । त्यसैले फाइनल पुग्दा निकै खुसी लागेको छ,’ जितपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने । उनले थपे, ‘थ्री-स्टार सबैभन्दा राम्रो र सन्तुलित टिम हो । थ्री-स्टारमा २-३ खेलाडी खेल जिताउन सक्ने खुबीका छन् । उनीहरूलाई रोक्न सके उपाधि जित्नेछौं ।’

फाइनलसम्म पुग्न ठूलो मूल्य चुकाएको उल्लेख गर्दै प्रशिक्षक श्रेष्ठले भने, ‘फरवार्ड जुमनु राई घाइते भए । टिसिएल टियर भएका उनले एएफसी प्रेसिडेन्ट्स कप खेल्ने आस छ । डिफेन्डर सुरज विकलाई पनि चोट लागेको छ ।’

चोटका बावजुत पनि श्रेष्ठले जुमनुलाई पहिलो रोजाइमै मैदानमा उतारेका थिए । जुमनुलाई १३ औं मिनेटमै निकाल्दै दिलीप राईलाई मैदान प्रवेश गराइएको थियो । ‘सेन्टर फरवार्ड नभएकाले समस्या भयो । त्यसैले सुरुआती १५ मिनेटमै गोल गर्ने योजना सफल भएन,’

प्रशिक्षक श्रेष्ठले भने, ‘मनाङले सोचेभन्दा राम्रो खेल्यो । पेनाल्टी रितेशले रोक्नु नै खेलको ‘टर्निङ प्वाइन्ट’ रह्यो ।’

प्रारम्भमा मनाङले प्रभावशाली प्रदर्शन गर्‍यो । त्यसपछि पुलिसले लय समातेको थियो । पुलिसको दुई प्रहारमा बल पोलमा लागेको

थियो । योगेशको कर्नरमा रोशन कार्कीले ६८ औं मिनेटमा प्रहार गरेको बल पोलमा लागेर

फर्कियो । मनाङका डिफेन्डर विकाससिंह क्षेत्रीले गोलकिपर विशाल श्रेष्ठलाई पास दिएको बल नियन्त्रण गर्दै भोला सिलवालले खाली पोस्टमा प्रहार गरेका थिए । तर बल पोलमा लागेर बाहिरियो ।

पुलिस गोलका सुन्दर दुई मौकामा पनि चुक्यो । मनाङले पनि दुई राम्रो अवसर गुमायो । एक अनिल र अर्कोमा नवीन न्यौपाने चुके । ‘म्यान अफ द म्याच’ चुनिएका पुलिसका गोलकिपर रितेशले पेनाल्टीबाहेक मनाङका चार आक्रमण पनि असफल पारेका थिए ।

प्रतिक्रिया दिनुहोस !