अपराधिक समुहले गोली प्रहार गरी गम्भीर घाइते बनाएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको उपचार क्रममा मृत्यु भएको छ । उनको उपचार गराइरहेको नर्भिक अस्पतालले मृत्युको पुष्टी गरेका हो ।

यसअघि नर्भिक अस्पताल आइपुगेका प्रधानमन्त्री भट्टराईले चिकित्सकहरुसंगको भेटपछि न्यायाशीस बमको मृत्यु भएको संवाददाताहरुलाई जानकारी दिएका थिए । त्यसको केही समयपछि नै अस्पतालका निर्देशक भरत रावतले पनि न्यायाधीस बमको मृत्यु भएको पुष्टी गरेका हुन् ।

न्यायाधीश बम र उनका अंगरक्षकमाथि राजधानीको शंखमुलमा बिहीबार दिउँसो गोली प्रहार गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर कार्यालयतर्फ आउँदै गरेको बेला उनीमाथि गोली प्रहार गरिएको थियो ।

घट्ना ११ बजेर पाँच मिनेट जाँदा भएको प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहले संवदादाताहरुलाई बताए । न्यायाधीश बम बा.८.च ९८५३ नम्बरको सेतो कारमा चढेका थिए । कार भित्रै उनीमाथि आक्रमण भएको छ ।

कालो पल्सर आएर गाडीको अगाडी रोकिएपछि न्यायाधीस बम चढेको कार रोकिएको थियो । त्यही बेला मास्कलागएका ब्यक्तीले सुरुमा अंगरक्षक र त्यसपछि न्यायाधीशलाई अन्धधुन्ध गोली प्रहार गरेका थिए ।

न्यायाधीस  बमको च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको थियो । त्यस्तै उनका अंगरक्षक महेश गिरीको घाँटीमा गोली लागेको छ । दुवैजना घाइतेलाई स्थानीयले नर्भिक अस्पतालमा पुर्‍याएको छ । गाडीमै रहेका न्यायाशीस बमका अर्का एक साथीको पनि पाखुरामा गोली लागेको बताइएको छ ।

घाइते बमलाई भेट्न प्रधानन्याधीश खिलराज रेग्मी, प्रधानमन्त्री भट्टराई, गृहमन्त्री बिजय गच्छदारलगायत नर्भिक अस्पताल पुगेका छन् । न्यायाधीश बम आफ्नो घर कलंकीबाट बगलामुखी दर्शन गर्न आएको र दर्शन गरेर कार्यालय जाने क्रममा उनी माथि आक्रमण भएको बताइएको छ ।

गृहमन्त्री गच्छदारले बमलाई गोली हान्ने अपराधी र त्यसमा प्रयोग गरिएको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको बताएपनि थप विवरण दिएको छैन ।

घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । पहिलो चोटी यो पार्टीको नाम सुनिएको छ ।

प्रतिक्रिया दिनुहोस !