काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र वर्तमान सरकारका सहभागी हुने नहुनेबारे विवाद चर्किएको छ । छोटो समयका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारमा गएर आफ्नो नेतृत्वको सरकार बनाउने कि आफ्नो नेतृत्वको सरकार गठन गर्न पहल गर्ने भन्नेमा कांग्रेसमा विवाद देखिएको हो ।

‘सरकारको विषयमा हाम्रो पार्टीमा विवाद छ’ एक शीर्ष नेताले अनलाइनखबरसँग भने-’केही साथीहरु ७ दिनकै लागि भएपनि यही सरकारमा जानुपर्छ भन्नेमा हुनुहुन्छ भने हामीले यो सरकारमा जाने हैन, आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु पर्छ भन्नेमा छौं ।’

श्रोतका अनुसार सभापति सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्यहरु शेखर कोइराला र मिनेन्द्र रिजालसहितको समूह ७ दिन मात्र भएपनि भट्टराई सरकारमा जानुपर्ने पक्षमा देखिएको छ ।

अहिले माओवादी नेतृत्वको सरकारमा नगए कांग्रेसको नेतृत्वको सहमतीय सरकारमा माओवादी सहभागी नहुने भन्दै नेताहरुले ७ दिनका लागि मात्र भएपछि वर्तमान सरकारमा नै सहभागी हुनु पर्ने तर्क गरेका छन् । उनीहरुले महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा वर्तमान सरकारमा सहभागी हुने तयारी समेत गरेका छन् । त्यसो भएमा कृष्ण सिटौला भट्टराई सरकारमा गृहमन्त्रीका रुपमा सहभागी हुने पक्कापक्की जस्तै भएको श्रोतको दावी छ ।

तर, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, रामशरण महत लगायत भने माओवादी नेतृत्वको वर्तमान सरकारमा जानै नहुने अडानमा छन् । अहिले केहीदिनका लागि भन्दै भट्टराई नेतृत्वको सरकारमा जाँदा प्रधानमन्त्रीले राजीनामा नदिने र कांग्रेसको नेतृत्वमा सरकार नै नबन्ने उनीहरुको तर्क छ ।

अहिलेको सरकारमा जाने कि नजाने भन्ने बिषयमा कांग्रेसभित्र देखिएको बिबादको कारण को सरकारमा जाने र कसले पद पाउने भन्ने पनि हो । सिटौलाको समूहले केही दिन बाबुराम सरकारमा गएर त्यसपछिको प्रधानमन्त्री सभापति शुसिल कोइरालालाई बनाउने योजना बनाएको भन्दै देउवा र रामचन्द्र दुवै बिच्किएका छन् । यसअघि १७ पटकसम्म प्रधानमन्त्रीमा चुनाव लडेका रामचन्द्र अबको प्रधानमन्त्रीको लाइनमा भएपनि सुशिलले नै प्रधानमन्त्री हुने रहर गरेपछि पौडलेको पालो नआउने पक्काजस्तै देखिन्छ ।

सुशीललाई प्रधानमन्त्री बनाउने योजनामा लागेका भारतीय पक्षसँग निकट मानिने कांग्रेस नेता अमरेश सिंहले अबको प्रधानमन्त्री सुशिल कोइराला नै हुने दावी गरेका छन् । उनले त संबिधान जारी हुनुअघि नै सुशिल प्रधानमन्त्री बन्ने दावी समेत गरेका छन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुनुअघि बरिष्ठ नेता शेरबहादुर देउवालाई उम्मेदावारी दिनबाट बञ्चित गर्न संस्थापन पक्षले सहमतीय सरकारको नेतृत्व दिने आश्वासन दिएको थियो । नयाँ सरकारको चर्चासँगै देउवाले त्यसको अपेक्षा गर्नु स्वभाविक मानिएपनि संस्थापन पक्षले आफुपक्षीय नेता पौडेललाई पनि जिल्याउने देखिएको छ । सभापति कोइराला र उनलाई राजनीतिक खम्बा सिटौलाको जोरबल पुगेमा आगामी केही दिनभित्र कांग्रेस सिटौलाको नेतृत्वमा भट्टराई सरकारमा सहभागी हुने छ ।

प्रतिक्रिया दिनुहोस !