भोटेकोशी बाढी प्रभावितका लागि रु. १ लाख २० हजार ५०५ राहत सहयोग हस्तान्तरण

काठमाडौं–तामाङ समाज यूएईले ‘शिक्षाका लागि समाज’ कार्यक्रम अन्र्तगत नगद शैक्षिक सहयोग वितरणका साथै कला र सञ्चार क्षेत्रका दुई जना प्रतिभालाई पनि नगदसहित सम्मान गरेको छ ।

बागमती प्रदेश सरकारका मन्त्री ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंमा आयोजित औपचारिक समारोहकाबीच ३ जना विद्यार्थीलाई छात्रवृत्ति, तीन वटा सामुदायिक विद्यालयलाई नगद सहयोग, एक कलाकार तथा एक सञ्चारकर्मीलाई नगदसहित सम्मानका साथै भोटेकोशी बाढी प्रभावितका लागि नगद राहत सहयोग हस्तान्तरण गरिएको हो ।

‘शिक्षाका लागि समाज’ भन्ने मुल नाराका साथ सन् २०१२ मा स्थापना गरिएको सपोर्ट माई स्कुल कार्यक्रम अन्र्तगत धादिङको अर्मखु मावि कक्षा १० अध्ययनरत अञ्जु तामाङ, काभ्रेपलाञ्चोकको सेतीदेवी माविबाट एसईई उतिर्ण निर्मान तामाङ र सिन्धुपाल्चोकको जालपादेवी मावि कक्षा १० मा अध्ययनरत छात्रा बिबिसा थिङ तामाङलाई जनही २०/२० हजार नगद छात्रवृत्ति प्रदान गरिएको छ ।

यस कार्यक्रम अन्र्तगत तामाङ बाहुल्यता रहेको विकट गाउँबस्तीमा रहेका सामुदायिक विद्यालयलाई शैक्षिक आर्थिक सहयोग र आर्थिक अवस्था कमजोर तथा जेहेन्दार तामाङ बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको समाजले सन् २०२३, सन् २०२४ र सन् २०२५ का लागि सहयोग दिन छनौट गरिएका विद्यालयहरुलाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।

यस अघि नै सनिल घिसिङ तामाङको कार्यकालमा सहयोगका लागि छनौट गरिएको भगवती आधारभूत विद्यालय ओखलढुंगा र डिल्लीराम तामाङको कार्यकालमा सहयोगको निर्णय भएको नवज्योती आवि सिन्धुलीलाई पनि यसै पटक रु. १ लाख ११ हजार १११ का दरले सहयोग वितरण गरिएको हो ।

सन् २०२५ देखि भने विद्यालयलाई दिइने सहयोग रकम बढाएको जनाउँदै समाजले हिलेश्वर आवि रौतहटलाई रु. १ लाख ५५ हजार ५५५ आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले यो पटक भाषा, साहित्यक, कला, संस्कृतिको क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक तथा संगीतकार एवं अभियन्ता फूलकुमार बम्जनलाई दोसल्ला ओढाई तामाङ गोइलो, रु २५ हजार नगद र सम्मानपत्रद्धारा सम्मान गरेको छ ।

त्यस्तै सञ्चार क्षेत्रबाट तामाङ आवाज, भाषा, कला, साहित्य, संस्कृति प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजन न्युज तामाङ ताम्सोरका सम्पादक एवं प्रस्तोता वीरवल तामाङलाई पनि दोसल्ला ओढाई तामाङ गोइलो, रु २५ हजार नगद र सम्मानपत्रद्धारा सम्मान गरेको छ ।

साथै कार्यक्रममा संस्थागत विकास, समाजप्रति गरिएको योगदानको कदर गर्दै समाजका संस्थापक अध्यक्ष छत्र लामा, पूर्व अध्यक्षहरु डिल्लीराम तामाङ र महेश मोक्तानलाई दोसल्ला ओढाई सम्मानपत्रका साथमा सम्मान गरिएको थियो ।

नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटीमा आयोजित समारोहकाबीच समाजले भोटेकोशी बाढी प्रभावितका लागि राहत वितरण गर्न संकलित रु.१ लाख २० हजार ५०५ राहत सहयोग नेपाल तामाङ घेदुङलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका मन्त्री ज्ञान बहादुर तामाङले बैदेशिक रोजगारीका लागि यूएई पुगेका तामाङ युवाहरुले गरेको यो सहयोग महत्वपूर्ण रहेको भन्दै यसको सही सदुपयोगमार्फत शैक्षिक उन्नतीमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘यो सहयोग सानो सहयोग हैन, थोपा थोपा मिलाएर उहाँहरुले यति धेरै गर्नुभयो, यसका साथै सांस्कृतिक कार्यक्रम गर्ने, समुदायको कलाकार र कलालाई संसारभरी चिनाउने जुन सकारात्मक कार्य छ, यस खालको सकारात्मक सोच र कार्यप्रति सलाम भन्न चाहन्छु ।’ प्रमुख अतिथि तामाङले भन्नुभयो,‐‘यो सोच र कार्यलाई निरन्तरता दिनका लागि बागमती प्रदेश सरकार पनि साथमा छ, पद त अस्थायी हुन्छ, म पदमा रहेपनि नरहेपनि हाम्रो सम्बन्ध स्थायी हुनेछ ।’

समाजका संस्थापक अध्यक्ष छत्र बहादुर लामाले रोजगारीका शिलशिलामा यूएईमा पुगेका तामाङ युवाको धारणा, भोगाई र उनिहरुमाझ गरिएको सर्वेक्षणले तामाङ समाज मुख्यत शिक्षाको कमीकै कारण पछाडि रहेको निश्कर्षका संस्थाले महत्वका साथ ‘शिक्षाका लागि समाज’ कार्यक्रम थालिएको विगत स्मरण गराउनुभयो ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत रहनुभएका लामाले तामाङ समुदायको शिक्षा, स्वास्थ्य, कला संस्कृति प्रवद्र्धन लगायतका क्षेत्रका साथै राजनीति र कर्मचारी प्रशासन क्षेत्रमा पनि उल्लेख्य सहभागिता अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण तामाङले तामाङ समुदायको विकासको मुख्य आधार शिक्षामा तामाङ समाज युएईले गर्दै आएको यस खालको रचनात्मक कार्यप्रति खुसी व्यक्त गर्दै सहकार्य र समन्वयबाट नै समुदायको रुपान्तरणमा जुट्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका समाजका अध्यक्ष सुरेन तामाङले अब तामाङ समाज यूएईका कार्यक्रमहरु विधा तथा क्षेत्रगत रुपमा अझ परिस्कृत र व्यापक बनाउँदै लैजाने प्रतिवद्धता जनाउनुभयो । आजको एआईको जमानामा अब तामाङ समुदाय गुणात्मक शिक्षा र प्रविधिको पहुँचमा जोडिन अति आवश्यक भएको उहाँको भनाई छ ।

वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको छाता संगठनको रुपमा सन् २००५ मा स्थापना भई क्रियाशिल यो समाजले आफ्नो स्थापना पश्चात अहिलेसम्म आयोजना गरेको ल्होछार,एसएमएस धमाका लगायतको माध्यमबाट जुटेको रकमबाट शिक्षाका लागि समाज कार्यक्रम गर्दै आएको जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्यकै क्रममा तामाङ समाज यूएई नेपाल सम्पर्क समितिका अध्यक्ष निशान लामाले संस्थाको यस खालको कार्यक्रम तथा औचित्यबारे जानकारी गराउनुभएको थियो ।

समाजले यूएईमा हुने आगामी ल्होछार कार्यक्रममा सांगीतिक प्रस्तुतीका लागि नेपालबाट कलाकार आरम्भ तामाङ, सुवास मोक्तान र चेतन लामालाई यसै कार्यक्रमकाबीच निमन्त्रणापत्र प्रदान गरेको थियो ।

सफलता थिङ तामाङको सहजिकरणमा सम्पन्न कार्यक्रममा तामाङ समाज यूएईका पूर्व अध्यक्ष महेश मोक्तान, पूर्व अध्यक्ष डिल्लीराम तामाङ, तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान वल तामाङ, तामाङ कलाकार संघका पूर्व अध्यक्ष विश्व दोङ लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस !