काठमाडौं‐घरबाट बेपत्ता भएका व्यक्तिको खोजीमा परिवारले भोग्नुपरेको पीडा, चिन्ता र व्यग्रता तथा रसुवा हुँदै बग्ने त्रिशूली नदीमा भदौ १० गते आएको बाढीले निम्त्याएको प्राकृतिक विपत्तिको विषयवस्तु सान्दर्भिक म्युजिक भिडियो ‘कहाँ भयौ बेपत्ता’ बुधबार एक औपचारिक समारोहका बीच सार्वजनिक गरिएको छ ।
स्वयम्भूस्थित क्वालोटी दरबारमा नेपाली संगीत जगतका बरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले मानव संवेदनालाई छुने गरी समाजको वास्तविक कथाको रुपमा आउने यस खालको सिर्जना महत्वपूर्ण रहेको बताउनुभयो । व्यक्तिगत जीवनमा आमालाई गुमाउदा भोग्नुपरेको वियोगको अनुभव सुनाउँदै उहाँले गीतमा अभिव्यक्त दुःख, वेदना र भावनाको प्रशंसा गर्नुभयो ।
छेवाङ तेन्जिङ लामाको कथाबस्तु तथा परिकल्पना, मिठु तामाङको प्रस्तुती उक्त म्युजिक भिडियोले बेपत्ता व्यक्तिको खोजीमा रहेका परिवारको मर्मस्पर्शी अवस्था, बाढीबाट प्रभावित जनजीवन तथा विपत्तिले समाजमा पारेको गहिरो प्रभावलाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको जनाएको छ ।
गीतका गायक, रचनाकार तथा संगीतकार सूर्यमान वाइबा तामाङले गीत तयार हुनुको पृष्ठभूमिबारे जानकारी दिँदै २०७२ सालको विनाशकारी भूकम्प आउनुअघि रेकर्ड गरेर सुरक्षित राखिएका गीतहरू त्यसबेला घरसँगै पुरिएर नष्ट भएको र अहिले भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको दुःखद घटनापछि सान्दर्भिक लागेर सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउने, बेपत्ता हुने तथा आफन्त गुमाएर पीडामा रहेका परिवारहरूको दुःख र वेदनालाई महसुस गर्दै यस गीतको जन्म भएको उहाँको भनाई छ ।
बिजय रुम्बाको निर्देशन रहेको भिडियोले मानवीय संवेदना अभिव्यक्त गर्नुका साथै विपत्तिबाट प्रभावित परिवारको पीडा र घटनाको स्मरण गराउने उद्देश्य साथ उक्त म्युजिक भिडियो ल्याईएको हो ।
सुर्यमान तामाङका साथै योजम तामाङको स्वरमा तयार भएको उक्त सिर्जनाको संगीत संयोजन र रेकर्डिङ छेवाङ तेन्जिङ लामाले गर्नुभएको हो । उक्त म्युजिक भिडियोमा मुख्य पत्रको रूपमा भुईसल लामा र प्रेम लामाका साथै छेवाङ तेन्जिङ बिनि लोहोनि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अतिथिको रुपमा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष प्रेम लो, तामाङ पत्रकार संघका केन्द्रिय अध्यक्ष नेत्र मोक्तान, आदिबासी चलचित्र महसंघका कार्यबाहक अध्यक्ष भुईसल लामा, लेखक एवं पत्रकार बुद्ध योन्जान, तामाङ चलचित्र निर्देशक संघका महासचिव बिनय दोङ, युथ क्रियशन नेपालका अध्यक्ष रबि लामा लगायत हुनुहुन्थ्यो ।
उक्त म्युजिक भिडियो अमृत धुन टिभी युटुब च्यानलमा हेर्न सकिन्छ ।
भिडियोसहित














