काठमाडौं—नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको छिनोफानो भएको छ । राष्ट्रिय सभागृह काठमाडौंमा सोमबार विहान सम्पन्न उपसभापति र महामन्त्री पदतर्फको मतगणना अनुसार उपसभापति(खुला)तर्फ मधु आचार्य र चन्द्र भण्डारी विजयी हुनुभएको छ भने महामन्त्री(खुला) तर्फ प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ ।
उपसभापतिमा मधु आचार्य २ हजार ३४२ मत प्राप्त गर्नुभई विजयी हुनुभएको हो भने खुलातर्फ नै उपसभापतिमा चन्द्र भण्डारी सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्यस्तै उपसभापति(समावेशी)तर्फ विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका हुनुभएको छ ।
खुला उपसभापतिका लागि चुनौती दिन मैदान उत्रिएका गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी, चन्द्र मोहन यादवलाई पराजित गर्दै आचार्य र भण्डारी विजयी हुनुभएको हो । उपसभापतिमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्र मोहन यादवले ७६० मत पाउनुभयो ।
समावेशी उपसभापतिमा चौधरीसँगै जीवन परियारले फरमुल्लाह मन्सुर, सीता गुरुङ र रन्जित कर्ण पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यसमध्ये चौधरीले बाजी मार्नुभएको हो भने प्रस्पिर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत मात्र प्राप्त गर्नुभयो ।
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र समावेशी महिला उपसभापतितर्फ पुष्पा भुसाल यसअघि नै निर्विरोध भइसक्नुभएको छ ।
त्यस्तै कांग्रेसको महाभिवेशनले आगामी ४ वर्षका लागि महामन्त्रीको जिम्मेवारी पनि छिनोफानो गरेको छ । महामन्त्री(खुला)मा प्रदीप पौडेल, उदयशम्शेर राणा र महामन्त्री(समावेशी महिला) डिला संग्रौला विजयी हुनुभयो ।
पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत प्राप्त गर्नुभएको हो भने डा. डिला संग्रौलाले ३ हजार ११८ मत पाउनुभयो । संग्रौलालाई चुनौती दिन मैदान उत्रनुभएका महालक्ष्मी उपाध्यायले २ हजार ८६४ र रीता खनालले ८०४ मत मात्र प्राप्त गर्नुभयो ।
खुला महामन्त्रीका लागि डा. सुनिलकुमार शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन, शंकर तिवारी र डा. सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।
कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार महामन्त्रीका प्रत्यासीहरु डा. शर्माले २ हजार २५७, घिमिरेले १ हजार ५१३, महरले १ हजार १३४, पुनले १ हजार १२५, तिवारीले १२३ र उपाध्यायले ९७ मत मात्र प्राप्त गर्नुभएको थियो ।














