स्वास्थ्य, खानेपानी, नगद सहायता र मनोसामाजिक सेवामा निरन्तर परिचालन
काठमाडौं—रसुवा–त्रिशूली बाढीको एक महिनामा नेपाल रेडक्रस सोसाइटीको प्रतिकार्यमा हजारौँ प्रभावित परिवारसम्म राहत र सेवा पुगेको पाईएको छ ।
भदौ १० गतेको विनाशकारी उक्त बाढीपछि नेपाल रेडक्रस सोसाइटीले राहत, उद्धार, स्वास्थ्य, खानेपानी, मनोसामाजिक सहयोग तथा परिवार सम्पर्क पुनःस्थापनालगायतका मानवीय सेवालाई निरन्तरता दिदै आएको हो ।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि रेडक्रसले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गर्दै सम्बन्धित जिल्ला शाखा, कर्मचारी तथा स्वयंसेवकलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ ।
बाढीको सूचना प्राप्त भएलगत्तै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा। विशाल कुमार भण्डारीको नेतृत्वमा टोलीले नुवाकोटको विदुरलगायत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान गरेको थियो । त्यसपछि सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गर्दै राहत तथा मानवीय सहायता विस्तार गरिएको रेडक्रसले जनाएको छ ।
रसुवामा राहत सामग्रीदेखि खानेपानीसम्म
रेडक्रसका अनुसार बाढीबाट प्रभावित रसुवाका परिवारलाई १ हजार २१८ सेट गैरखाद्य सामग्री, ५६३ थान त्रिपाल, ७०१ थान म्याट्रेस र १ हजार ३२४ थान कम्बल वितरण गरिएको छ ।
त्यसैगरी २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ भने २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा पुर्याइएको छ ।
प्रभावित क्षेत्रमा १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत समेत खानेपानी वितरण गरिएको छ ।
स्वास्थ्य र मनोसामाजिक सेवामा पनि जोड
बाढीपछि उत्पन्न मानसिक तनाव र स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न रेडक्रसले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) र प्राथमिक मनोसामाजिक सहयोग (PFA) सञ्चालन गरेको छ । यसबाट १ हजार ७१० जना लाभान्वित भएको संस्थाले जनाएको छ ।
रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
बाढीका कारण परिवारबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा परिवारसँग पुनःसम्पर्क कायम गराउने कार्यलाई पनि प्राथमिकता दिइएको छ । यसअन्तर्गत २ हजार २९१ वटा खोजतलास तथा परिवार सम्पर्क पुनःस्थापनासम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको रेडक्रसले जनाएको छ ।
यसैगरी नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन ब्याग उपलब्ध गराइएको छ ।
धादिङ र नुवाकोटमा नगद सहायता
प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न रेडक्रसले बहुउद्देश्यीय नगद सहायता पनि उपलब्ध गराएको छ। धादिङका १९८ र नुवाकोटका २६२ घरधुरी गरी कुल ४६० घरधुरीले यस्तो सहायता प्राप्त गरेका छन् ।
रेडक्रसका अनुसार प्रभावित समुदायबाट प्राप्त करिब ३५० वटा गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ ।
महिला तथा किशोरीको व्यक्तिगत आवश्यकतालाई लक्षित गर्दै ५८७ वटा मर्यादा किट र १ हजार ८७ वटा स्वच्छता किट ८८ वितरण गरिएको छ ।
त्यस्तै, बाढीबाट प्रभावित १ हजार १८९ बालबालिकालाई बालमैत्री सुरक्षित स्थान (CFS) मार्फत आवश्यक सेवा प्रदान गरिएको छ।
१७ स्थानमा सूचना तथा सहायता डेस्क
राहतसँगै प्रभावित समुदायलाई सही सूचना र आवश्यक सेवासँग जोड्ने उद्देश्यले रेडक्रसले प्रभावित क्षेत्रमा १७ स्थानमा सहायता तथा सूचना डेस्क सञ्चालन गरेको छ ।
यी डेस्कमार्फत प्रभावित परिवारलाई राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, गुनासा तथा सुझाव दर्तालगायतका विषयमा आवश्यक जानकारी र सहजीकरण उपलब्ध गराइएको छ ।
रेडक्रसले बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य सुरक्षा र परिवार पुनर्मिलनलगायत विषयमा सूचना सामग्री तयार गरी सामाजिक सञ्जाल तथा रेडियोमार्फत प्रचारप्रसारसमेत गरिरहेको जनाएको छ ।
राहतबाट पुनःस्थापनातर्फ अघि बढ्ने तयारी
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालद्वारा जारी विज्ञप्तिमा प्रभावित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा मानवीय सहायता निरन्तरता दिने उल्लेख गरिएको छ ।
अबको चरणमा राहत सामग्रीको समयमै व्यवस्थापनसँगै प्रभावित समुदायको आवश्यकता र प्राथमिकताका आधारमा प्रतिकार्यलाई थप सुदृढ गर्ने रेडक्रसको योजना छ ।
त्यसका साथै प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभ का लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
रेडक्रसले विपद्को कठिन समयमा जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवा सञ्चालनमा सहयोग गर्ने अन्तर्राष्ट्रिय महासंघ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक र सहयोगीप्रति आभार व्यक्त गरेको छ ।
विपद्पछिको एक महिनामा राहत र उद्धारसँगै स्वास्थ्य, खानेपानी, मनोसामाजिक सहयोग, बाल संरक्षण, नगद सहायता र परिवार पुनर्मिलनसम्मका सेवा विस्तार गरेको रेडक्रसले अबको प्राथमिकता तत्कालीन राहतबाट प्रभावित परिवारको पुनःस्थापना र पुनर्लाभतर्फ केन्द्रित गर्ने जनाएको छ ।














