शिशिर दोङ/धुलिखेल, काभ्रे । सरकारले गरेको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले सञ्चालन गर्दै आएको बिरोधको कार्यक्रम अन्तर्गत पत्रकार महासंघ काभ्रे शाखाले जिल्ला हुलाक कार्यालय काभ्रेमा सोमबार ज्ञापनपत्र बुझाएको छ।
जिल्ला हुलाक कार्यालयमा काभ्रेमा ज्ञापनपत्र बुझाउँदै शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले देशको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रलाई संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा सरकारले सञ्चारमाध्यमलाई थप संकटमा पार्ने निर्णय गरेको बताउनुभयो।
उहाँले स्वतन्त्र रूपमा कलम चलाउँदै आएका पत्रकार तथा सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नुको सट्टा बन्द गर्नुपर्ने बाध्यतामा पार्ने अवस्था सिर्जना भएको आरोप लगाउनुभयो।साथै निर्णय नसच्चिएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझाउन आग्रह गर्दै माग तत्काल सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले चेतावनी दिनुभयो।
ज्ञापनपत्र बुझ्दै निमित्त हुलाक कार्यालय प्रमुख अञ्जना निरौला तामाङले साउन १ गतेदेखि कुनै पनि पत्रिका दर्ता नगरेको जानकारी दिनुभयो। माथिल्लो निकायबाट निर्णय नआएसम्म पत्रिका दर्ता नगर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।














