विपद्को सामना गर्न सबै जुट्न आह्वान
तेमाल-काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ५ स्थित पोखरी नारायणस्थानमा बिहीबार र शुक्रबार “प्रथम ऐतिहासिक बोन्बो महोत्सव” को आयोजना गरिएको छ ।
तामाङहरुको महत्वपूर्ण पर्व गोनेङ्ह्याको अवसरमा नेपाल तामाङ बोन्बो घेदुङ बागमती प्रदेशको आयोजनामा हजारौं बोन्बोहरुको भेला गर्दै बोन्बो ज्ञान मन्थन, प्रस्तुतिकरण गरी बोन्बो महोत्सव सम्पन्न गरेको हो ।

महोत्सव समारोहका प्रमुख अतिथि बागमती प्रदेशका मन्त्री ज्ञान बहादुर तामाङले समुदायको यस खालको सभ्यता, कला, ज्ञान परम्परा तथा संस्कृतिको प्रवर्द्धनमुखि कार्यक्रमप्रति खुसी व्यक्त गर्नुभयो ।

सत्यनारायण मेलाको अवलोकन गर्दै बोन्बो महोत्सव समारोहमा पुग्नुभएका मन्त्री तामाङले कला, संस्कृतिको प्रबर्द्धनका लागि व्यक्ति, समुदायदेखि सरकार सबै मिलेर अघि बढ्नुपर्ने औंल्याउनुभयो ।

बोन्बो महोत्सवले बोन्बो संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुदै उहाँले ज्ञान हस्तान्तरणको महत्त्वपूर्ण समय गोनेङ्ह्याले सबैमा त्यस खालको उर्जा प्रवाह गरोस् भन्ने कामना गर्नुभयो ।
गोनेङ्ह्या पर्व तामाङ समुदायको धार्मिक, सांस्कृतिक, सामाजिक जीवनमा गहिरो सम्बन्ध रहेको पर्व भएको उल्लेख गर्नुहुदै प्रदेशमन्त्री तामाङले भन्नुभयो,-“यस्ता पर्वहरु केबल उत्सव मनाउने अवसर मात्र हैनन्, यी हाम्रा मौलिक संस्कार, परम्परा, सांस्कृतिक मूल्य पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण माध्यम पनि हुन् ।”

विशेषगरी तामाङ समुदायको मौलिक सांस्कृतिक परम्पराको रुपमा रहेको बोन्बो संस्कृति पहिचानको महत्त्वपूर्ण आधार रहेको उहाँको भनाई छ ।
बोन्बो परम्परामा प्रकृति, परम्परा , संस्कार, संस्कृति समुदाय र मानव जीवनको अन्तरसम्बन्धलाई विशेष महत्त्व दिएको पाएको जनाउनुहुदै उहाँले बोन्बो संस्कृतिको संरक्षण गर्नु भनेको एउटा सांस्कृतिक परम्पराको संरक्षण मात्र नभई यो पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सम्पदाको संरक्षण पनि भएको स्पष्ट पार्नुभयो ।

प्रदेशमन्त्री तामाङले तेमालको ईतिहास वर्तमान भुगोलसँग मात्र जोडिएको ईतिहास नभई समुदायको राजनीतिक, सांस्कृतिक र सामाजिक स्मृतिसँग समेत जोडिएको महत्त्वपूर्ण अध्याय भएको धारणा राख्नुभयो ।
बौद्ध धार्मिक परम्परा अनुसार आठौं सताब्दीको मध्यतिर नेपाल हुँदै तिब्बत जाने क्रममा गुरु मद्मसम्भव तेमाल क्षेत्रमा आइपुगि साधना गर्नुभएको धार्मिक मान्यता रहनुले यो क्षेत्र धार्मिक अध्यात्मिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुदै उहाँले यहाँका यस खालका आस्था, सम्पदा, संस्कृतिको प्रवर्द्धनमार्फत तेमालको पर्यटन विकास गरी तेमालको विकास र समृद्धिमा योगदान पुर्याउन सकिने बताउनुभयो ।

प्रदेश मन्त्री तामाङले तेमालको अन्य सम्भावनाहरु समेत पहिल्याउँदै यहाँको समृद्धिका लागि सबै समुदाय, वर्ग, राजनीतिक दल, स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसमा बागमती प्रदेश सरकारको तर्फबाट आफ्नो भुमिका सशक्त रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्को प्रसंगमा उहाँले भोटेकोसी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका क्षेत्रमा पुगेको जनधनको अकल्पनीय क्षतिले देशनै शोकमा रहेको उल्लेख गर्नुहुदै तेमालका केही नागरिक समेत उक्त बाढीमा परि बेपत्ता रहेको दुखद् खबर पाएको, खोजि र उद्धार कार्यमा बागमती प्रदेश सरकार पनि कटिबद्ध भएर लागेको बताउनुभयो ।
विपद्को यो अवस्थामा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुहुदै उहाँले बोन्बो महोत्सवबाट फर्के लगत्तै आफू पनि बाढी प्रभावित क्षेत्रमा लाग्ने जानकारी दिनुभयो ।
विपद्सँग जुध्न राज्य संयन्त्र देखि जनतासम्मको साथ महत्त्वपूर्ण हुने बताउनुहुदै उहाँले गैरसरकारी निकाय, नागरिक समाज सबैलाई जुट्न आह्वान गर्नुभयो ।

महोत्सव उद्घाटनमा आइपुग्नुभएका नवनियुक्त प्रदेशमन्त्री तामाङलाई तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर लगायत जनप्रतिनिधिहरुले बुद्धचित्तको मालाद्वारा स्वागत गर्नुभएको थियो ।

यो महोत्सव स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण रहने गाउँपालिका अध्यक्ष तामाङको विश्वास छ ।
गाउँपालिकाले प्रत्येक वर्ष भदौ शुक्ल पूर्णिमाको बेला यहाँ लाग्ने ऐतिहासिक धार्मिक महत्त्वको सत्यनारायणको मेला तथा गोनेङ्ह्या पर्वको प्रवर्द्धनका लागि भुमिका खेल्दै आएको उल्लेख गर्नुहुदै गाउँपालिका अध्यक्ष तामाङले यो वर्ष यहि बेला बोन्बो महोत्सव समेत हुनु सकारात्मक रहेको बताउनुभयो ।

बोन्बोहरुका साथै स्थानीयदेखि छिमेकी पालिका र जिल्लाका समेत हजारौं दर्शनार्थीहरुले भर्ने गोनेङ्ह्या मेला तथा गोननेङ्ह्या(जनैपूर्णिमा) मनाउन गाउँपालिकाले दुई दिन स्थानीय पर्व विदा दिएको उहाँको भनाई थियो ।
महोत्सव समारोहमा तेमाल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष इन्द्रबहादुर अधिकारी, वडा नं. ४ का वडाध्यक्ष पेम्बा लामा लगायत स्थानीय वडाका वडाध्यक्ष एवं अन्य जनप्रतिनिधिहरु पनि सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष तिर्थमान वल तामाङ लगायतले गोनेङ्ह्या पर्व ज्ञान पुस्तान्तरणको पर्व भएको धारणा राख्नुहुदै बोन्बो घेदुङले यहि बेला आयोजना गरेको बोन्बो महोत्सवले युवा पुस्तालाई जागृत गराउने धारणा राख्नुभयो ।
तेमाल गाउँपालिका, प्रदेश सरकार, अन्य संघसंस्था समेतको सहकार्य तथा सहयोगमा आयोजित बोन्बो महोत्सवमा लेखक तथा अनुसन्धानकर्ता खोजराज गोलेले बोन्बो सभ्यता, परम्परा, अभ्यास र महत्त्वबारे प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

मानवशास्त्री समेत रहनुभएका गोलेले यो युग बोन्बो, ताम्बा र लामाको युग भएको उद्घोष गर्दै अब बोन्बो, लामा, ताम्बाहरुको ज्ञान अन्धविश्वास हो भनेर भ्रम छर्ने समय समाप्त भएको बताउनुभयो । पश्चिमाहरुको विज्ञानले समेत हाम्रा बोन्बोहरुको ज्ञानलाई स्वीकारेको उहाँको भनाई थियो ।

आयोजक नेपाल तामाङ बोन्बो घेदुङ बागमती प्रदेशका संयोजक विकेश तामाङ स्याङबोले तेमाल गाउँपालिका, वडा तह, काभ्रेपलान्चोक जिल्लाका साथै छिमेकी जिल्लाका बोन्बोहरु सत्यनारायणको दर्शनका साथै महोत्सवमा भेला भई प्राचीन बोन सभ्यता, ज्ञान मन्थन, प्रस्तुतीकरण गरि भव्यता साथ बोन्बो महोत्सव सम्पन्न गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।

तेमाल गाउँपालिका, वडा, बागमती प्रदेश सरकार, घरेलु उद्योग कार्यालय, अन्य संघसंस्था, व्यक्तित्व, सहभागी बोन्बोहरु, म्हानिपा आमा समूह, लामा ताम्बा गान्बाहरु प्रती समेत आभार प्रकट गर्नुहुदै उहाँले आगामी वर्ष अझ परिस्कृत र व्यवस्थित गरि बोन्बो महोत्सवलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

विभिन्न संघ संस्थाका प्रतिनिधिमुलक शुभकामना मन्तव्य, बोन्बो टोलिहरुको प्रस्तुति, नेपाल तामाङ संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेञ्जिङ लामा नेतृत्वमा सहभागी कलाकारहरुको प्रस्तुति, ताम्वा घेदुङ, ताम्बाहरुको प्रस्तुतिले महोत्सव झनै तामाङ कला र संस्कृतिमय भएको थियो ।

समापनको सन्ध्यामा बोन्बो घेदुङका संघीय महासचिव लिला बहादुर मोक्तानले बोन्बो संस्कृति परम्पराको विकास, विस्तारमा जोड दिदै प्रथम ऐतिहासिक बोन्बो महोत्सवले तेमाल घोषणा पत्र जारी गरिएको व्यहोरा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा महोत्सव सफल पार्न साथ दिने सहयोगी निकाय, व्यक्तित्वहरुलाई प्रशंसापत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।














