काभ्रेपलाञ्चोक‐जिल्लाको बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका साथै उक्त नीति तथा कार्यक्रम कार्यन्वयनका लागि बजेट समेत सार्वजनिक गरेको छ। नगरसभाहलमा आयोजित नगरसभाको १६ औं अधिवेशनमा नगर प्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रम अनुसार स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगरले नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गर्ने नीति लिएको छ ।
सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतिका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने छ भने निष्कृय रहेका सहकारीलाई खारेज गरिने नगरपालिकाले जनाएको छ । नयाँ सहकारी दर्ता नगर्नेसमेत नगरपालिकाले नीति लिएको छ । नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगदसहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ ।
बनेपाको अभियान, प्रतिभा पहिचानका लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ भने एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइने नगर प्रमुख शाक्यले बताउनुभयो ।
उहाँका अनुसार गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका स्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिककको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रम समेत ल्याएको शाक्यले उल्लेख गर्नुभयो ।
नगर सभामा उपप्रमुख विमला सापकोटाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयक पेश गर्नुभयो । सभामा उपप्रमुख सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट टेबल गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम विवरण :















