काभ्रेपलाञ्चोक‐यो वर्ष पनि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले शून्य बेरुजु पालिका बन्न सफल भएको भन्दै प्रशंसापत्र प्राप्त गरेको छ ।

महालेखापरीक्षकको कार्यालयद्धारा काठमाडौंमा सोमबार आयोजित ६८औं वार्षिकोत्सवको अवसरमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई प्रशंसापत्र प्रदान गरिएको हो ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व प्रवर्धन एवं पारदर्शिता कायम गराउन महाभारत गाउँपालिकाको यस खालको कार्यले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेको प्रशंसा पत्रमा उल्लेख छ ।

महाभारत गाउँपालिकाको यो पटक आर्थिक वर्ष २०८१/०८२ को कारोवारको लेखापरीक्षण गर्दा पनि स्थानीय तहतर्फ शुन्य बेरुजु भेटिएको हो ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले स्थानीय जनता, जनप्रतिनिधि, कर्मचारी सबैको साथ सहयोग र मिहेनतबाट लगातार तेस्रोपटकसम्म शून्य बेरुजु भएको स्थानीय सरकार बन्न सफल भएको बताउनुभयो ।

यसरी देशभर ७ सय ५३ स्थानीय तहमध्ये लगातार तेस्रो पटक शुन्य बेरुजुमा पर्न सफल महाभारत गाउँपालिका अहिलेसम्मकै एकमात्र स्थानीय सरकार हो ।
यो गाउँपालिका यसअघि आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा पनि शून्य बेरुजु पालिका बन्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस !