पोखरी नारायणस्थान–काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकालाई बुधबार एक औचारिक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ ।

प्रत्येक घरमा रहेका १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम १५ महिनाभित्र पाउनु पर्ने सबै खोपहरु पाएको सुनिश्चित भएको तथा पूर्ण खोप दिगोपना कायम रहेको हुँदा तेमाल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष एवं पालिकास्तरीय खोप समितिका संयोजक चन्द्र बहादुर तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख एवं जिल्ला खोप समन्वय समितिका उपसंयोजक रिमबहादुर तामाङको प्रमुख आतिथ्यतामा  कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले पूर्णखोप सुनिश्चित गर्ने कार्य अन्त्य नभइ शुरुवात भएको उल्लेख गर्दै दिगोपनाका लागि निरन्तरता दिने गरि काम गर्न सम्बन्धित पक्ष र स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।

आगामी दिनमा कुनै पनि अवस्था वा परिस्थितीमा पनि तेमाल गाउँपालिकाका कुनै पनि बालबालिकाहरु कुनै पनि खोप लिनबाट बञ्चित हुने छैनन् भनि सम्पूर्ण जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु र स्थानीयबासीहरु मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता जाहेर गर्दै सार्वजनिक रुपमा हस्ताक्षर समेत गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दलमान(डिएम) थोकरले गाउँपालिकाका प्रत्येक वडाहरुले आफ्नो वडाभित्रका सबै बालबालिकाहरु खोपको पहुँचमा जोडिएको घोषणा गरेपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै ८७ जना बालबालिका खोपको पहुँचमा जोडिएका छन् । साथै आगामी दिन पनि निरन्तर रुपमा यसलाई कायम गर्नुपर्ने मापदण्डअनुसार त्यसको सुनिश्चितता तथा दिगोपनाप्रति प्रतिवद्ध हुदै पूर्ण खोप दिगोपना सुनिश्चितता तथा निरन्तरताको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको हो ।

तेमाल गाउँपालिका अध्यक्ष तामाङले बालबालिकाको स्वास्थ्यको सवालमा पनि उत्तिकै संवेदनशील भएर काम गर्दै आएको बताउनुभयो । सरकारको नियमित स्वास्थ्य कार्यक्रमका साथै गाउाँपालिकाले तर्जुमा गरेका अन्य कार्यक्रमहरु समेत प्रभावकारी ढंगले महिला तथा बालबालिकासँग जोड्ने गरिएको अध्यक्ष तामाङको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष थोकरले पनि तेमाल गाउँपालिकाले बालबालिकामा बढि लगानी गर्ने सोचका साथ काम गर्दै आएको बताउनुभयो । सवल, स्वस्थ नागरिकका लागि उसको धरातल बलियो बनाउन आवश्यक रहेको निश्कर्षका साथ महिला गर्भवती भएदेखि शिशुको जन्म र हुकाईको अवस्थासम्म सरकारको नियमित स्वास्थ्य कार्यक्रमका साथै अन्य कार्यक्रमहरु पनि गर्दै आएको उहाँको भनाई छ ।

 

यसवर्ष नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका चौथो पालिकापछि  यो पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिकामध्ये जिल्लामै पाँचौँ नम्बरमा पर्न सफल भएको छ ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार गाउँपालिकाले आफूहरु नेतृत्वमा आएपछि सञ्चालनमा ल्याएका स्वास्थ्य कार्यक्रमहरु उपलब्धिमुलक देखिएको जनाउनुभयो । पछिल्ला समय नसर्ने रोगको पहिचान तथा निदानका सन्दर्भमा शिविर सञ्चालनदेखि निशुल्क औषधी वितरण तथा उपचारसम्म गर्ने गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

नसर्ने रोगहरुको पहिचान तथा उपचारको सन्दर्भमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढि देखिएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष तामाङले यसमा पहिलो फेजको क्यान्सरको विभिन्न अस्पतालहरुसँग मिलेर पूर्ण रुपमा निशुल्क उपचार गर्दै आएको पनि बताउनुभयो ।

यसैक्रममा गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै नागरिकको स्वास्थ्य उकास्न गरिएको थप पहल अन्र्तगत केएमसी अस्पतालसँग तेमालका स्थानीयले उपचारमा २५ प्रतिशत छुट पाउने गरी भएको सहमति सहकार्य अनुसार उक्त अस्पतालको सिनामंगल, दुवाकोटा लगायत शाखाबाट उपचार सेवा लिनेको संख्या उल्लेख्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व दैनिक ८/१० जनाले उक्त अस्पतालमा उपचारका लागि सिफारिस लैजाने गरेका थिए ।

अहिले पनि केएमसी अस्पतालको भक्तपुर दुवाकोटमा उपचार गर्न सिफारिस पठाउने गरिएको त्यसका लागि तेमालका विपन्न नागरिक भएको हुनुपर्ने अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !