लन्डन–नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन लागि पर्दै आएका विनोद बरालद्वारा लिखित ‘मःम: का पाइलाहरु’ हालै सार्वजनिक भएको छ ।

खाद्य तथा स्वादका राजदूतका रुपमा परिचित बरालको पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरको दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभलमा विमोचन गरिएको हो ।

मोःमोः फाउन्डेसनको आयोजना र सरस्वती केन्द्र नेपालको सहआयोजनामा भएको कार्यक्रममा साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले उक्त कृति विमोचन गर्नु भएको थियो ।

विमोचन कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता पनि सँगै जाने उल्लेख गर्दै यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको बताउनुभयो ।

नयाँघरेले भन्नुभयो ‘नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन् ।’

अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिनुभएको थियो ।  लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताउनुभयो ।

पोखरामा जन्मनुभएका बराल लामो समयदेखि लण्डनमा बस्दै आउनु भएको छ । बेलायतमा रहेर पनि बेलायत समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उत्तिकै क्रियाशील रहदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !