
-
लोक बहादुर लामा
काठमाडौं–कतै प्राकृतिक बिपत्ति आइलाग्यो, कोही सहारा बिहिन भएर बिचल्ली भएको थाहा पाउने बित्तिकै आफैंलाई बिर्सेर दौडिरहने पात्र, शसक्त अभियन्ता हुनुहुन्छ डा. दिल बहादुर थोकर । उहाँलाई असोज १० र ११ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोक र आसपासका क्षेत्रमा गएको बाढीपहिरोबाट भएको धनजनको क्षतिले नपिरोल्ने कुरा नै रहेन ।
संयौंको ज्यान लिएको, घरबारबिहिन बनाएको, खेतीबाली नष्ट गरेको पिडामा जनताको सारथी बनिरहनुभएको छ डा. थोकर । उहाँकै अगुवाईमा पिडितहरुमाझ पुगेर बोधिसत्व विहार बुढानिलकण्ठसँग मिलेर कान्छीमाया फाउण्डेशन काभ्रेपलाञ्चोकमार्फत राहतसहित निशुल्क स्वास्थ शिविर अनि औषधी वितरण गर्दै आउनुभएको छ ।
बाढी पहिरोबाट प्रभावित करिब ६२० परिवारलाई पुर्ण र आंशिक क्षतिको आधारमा राहत सहयोग गरेको फाउण्डेशनका अध्यक्ष डा. थोकरले बताउनुभयो ।
कोहि नछुटुन् र कोही नदोहोरिउ्न भन्ने उद्धेश्यका साथ स्थानीय सरकारको समन्वयमा काभ्रेको पनैति नगरपालिका वडा न. १२ का ११० घरधुरी, बेथानचोक ४ नं. वडाका ३०० घरधुरी र तेमाल गाउँ पालिका वडा नं. २ का ७० घरधुरीलाई विभिन्न राहत सामाग्री प्रदान गरिएको थोकरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पहिरो प्रभावितहरुका लागि अति आवश्यक पर्ने खाद्यान्न, ओढ्ने ओछ्याउने, त्रिपाल, झुलका साथै स्वास्थ शिविर संचालन गरि विभिन्न औसधी समेत वितरण गरिएको छ ।
त्यस्तै ललितपुरको गोदावरी नगरपालिका ६ मा ५० घरधुरी र काठमाडौं सिनामंगलस्थित सुकुम्बासी वस्तीका ३० घरधुरीलाई पनि राहत वितरण गरिएको छ ।
यो पहिलो चरणको राहत भएपनि यसले तत्काल प्रभावित परिवारहरुको सामान्य आवश्यकतालाई पुर्ति गरेको र एक नेपालीको दुखमा अर्को नेपालीले सहयोग गर्नु पर्ने दायित्व निर्वाह गरेको राहत वितरण कार्यक्रम संयोजक तथा कान्छीमाया फाउण्डेशनका अध्यक्ष थोकरको भनाई छ ।
आहत परेको बेला राहत पाउनुलाई स्थानीय प्रभावित नागरिकले थोकरको ठूलो धर्मको रुपमा लिएका छन् । पिडामा मलम महसुस गरेका छन् ।
डा.थोकरले विशेष गरी कोभिड महामारी काल देखि नेपालको विभिन्न जिल्लाहरुमा आइपर्ने बिपत्तिको बेलामा सहयोग गर्दै आउनुभएको छ ।