काठमाडौं–चर्चित युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ बजारमा आएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड हालै सार्वजनिक भएको हो ।

हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज, नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर अधिकारी)द्वारा उक्त कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताउनुभयो । “डायास्पोराबाट धेरै साहित्यकारहरूले लेखिरहेका छन् तर उहाँले जस्तो अब्बल कृतिचाहिँ अरुबाट लेखिएको मैले पढेको छैन । यस कुराको पुष्टि आज सार्वजनिक भएको कृतिले पनि गर्दछ ।”,उहाँले भन्नुभयो ।

कवि शशी लुमुम्बूले नेपाली साहित्यमा युद्धसाहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्धसाहित्यकार रूपमा स्थापित भएको उल्लेख गर्दै राईका अन्य कृतिजस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई युद्धअनुभव, युद्धअनुभूति वा युद्धस्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।”
टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैँ पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्धसाहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताउनुभयो ।

कृतिकार राईले रहरैरहरमा पहिलो किताब लेखेको स्मरण गर्दै तर पछि गएर आफूजस्तै सैन्य तथा गैरसैन्य लेखक÷साहित्यकारहरूसँगको सङ्गत र सहकार्यले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाउनुभयो । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्वअध्यक्षसमेत रहेका राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौँले प्रकाशन गरेको हो ।

राई यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास, २०६२), राइफलले फलाकेको जिन्दगी (कवितासंग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास, सन् २००९), राइफलको मूच्र्छना (युद्ध उपन्यास, २०६८), फोकल्यान्ड जर्नल (युद्धअनुभव, सन् २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन् २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन् २०२०) प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस !