काठमाडौं–तामाङ समुदायको राष्ट्रिय संस्थाको रुपमा स्थापित नेपाल तामाङ घेदुङको शुक्रबारदेखि सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत आज बन्दसत्र चलिरहेको छ ।
देश तथा विदेशका शाखाहरुबाट प्रतिनिधित्व गर्दै आएको करीब ६ सय ११ प्रतिनिधि सहभागि बन्दसत्रमा अध्यक्ष मोहन गोलेले सांगठनिक, महासचिव जगतमान दोङ तामाङले विधान मस्यौदा र कोषाध्यक्ष रूप योञ्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
बन्दसत्रमा घेदुङको गत कार्यक्रमहरुको समिक्षा एवं आगामी नीति, योजनाका साथै नयाँ कार्यसमितिको आकारबारे समेत समूहगत छलफल चलिरहेको घेदुङ सूचना सञ्चार तथा प्रकाशन विभाग प्रमुख तिर्थमान वल तामाङले जानकारी दिनुभयो ।
महासचिव दोङद्धारा प्रस्तुत विधान मस्यौदामा २५ पदाधिकारीको प्रस्ताव गरिएको छ । यस अघि २३ पदाधिकारीबाट नयाँ प्रस्तावित २५ पदाधिकारी निर्वाचित गर्ने प्रस्तावित विधानबारे छलफल भइरहेको हो ।
हाल १०१ केन्द्रिय सदस्य रहेको घेदुङको प्रस्तावित विधान अनुसार नयाँ बन्ने कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरुको संख्या परिमार्जन हुन सक्ने सम्भावना देखिएको छ ।
बन्दत्रमा अध्यक्ष,महासचिव र कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन बृहत छलफल गरी पारित भएपछि नेतृत्व चयन प्रक्रिया अगाडी बढाईने कार्यतालिका रहेको छ ।
नयाँ नेतृत्व चयनका लागि कुमार ब्लोन प्रमुख निर्वाचन आयुक्त र कुमार योञ्जन अध्यक्ष मण्डलको अध्यक्षको भुमिकामा रहनुभएको छ ।
हाल सम्म नेपालमा ५२ शाखा र विदेशमा झण्डै ३५ शाखा रहेको ७० वर्षको लामो इतिहास बोकेको घेदुङ यसको स्थापनाको उद्धेश्य, तामाङ समुदायको साझा संस्थाको मर्मबाट बाहिर जान नहुनेमा खबरदारी चल्दै आएको छ ।
पछिल्लो समय घेदुङ समुदायको सामाजिक, सांस्कृतिक एवं पहिचानका एजेण्डाभन्दा राजनीतिक दलहरुको राजनीति गर्ने थलोको रुपमा दुरुपयोग भएको आरोप लाग्दै आएकोमा त्यसो नहोस् भन्ने हेतुले खबरदारीका आवाज उठ्दै आएको हो ।
स्वतन्त्र अभियन्ताहरुका साथै विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै महाधिवेशनमा शुभकामना दिन आएका अतिथि, बुद्धिजीवि, जनप्रतिनिधिहरुले समेत तामाङ समुदायको पहिचान, प्रतिनिधित्व, भाषा, लीपि, धर्म, कला संस्कृतिको प्रवद्र्धन एवं विकासमा स्पष्ट खाका, योजनासहित घेदुङ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
घेदुङका् दशौं महाधिवेशन शुक्रबार बृहत औपचारिक समारोहका बीच उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा तामाङ जातिको धर्म, संस्कृति एवं पहिचान झल्किने बोन्बो, लामा, ताम्बा झाँकीहरु प्रस्तुत गरिएको थियो ।
समोरोहमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ समुदायका ७ जना प्रतिनिधिसभा सदस्यहरुलाई खादा र तामाङ कुलागीद्धारा स्वागत सम्मान गरिएको थियो ।















