फाईल तस्बिर :

काठमाडौं-प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपाध्यक्ष डोलप्रसाद अर्याल निर्विरोध हुनुभएको छ ।

संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि आज विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएकोमा अर्यालको मात्रै उम्मेदवारी परेको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायतका तर्फबाट उम्मेदवारी नै नपरेपछि अर्याल निर्विरोध हुनुभएको हो ।
झन्डै दुईतिहाई(१८२) संसद सदस्य सहित सरकार बनाएको रास्वपाले गृहमन्त्री बन्ने चर्चा बटुलेका अर्याललाई यो जिम्मेवारीमा पठाएको हो ।

अर्याल गत फागुन २१ मा सम्पन्न प्रतिनिधसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

अब प्रतिनिधिसभाको उपसभामुख भने फरक दलबाट चयन हुनुपर्ने हुन्छ । नेपालको विद्यमान संविधान अनुसार सभामुख र उपसभामुख संसदमा प्रतिनिधित्व गर्ने फरक फरक दलबाट निर्वाचित संसद सदस्य हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस !