- विकेश लामा
तेमाल–काभ्रेपलाञ्चोक, तेमाल गाउँपालिका–५, पोखरी नारायणस्थान (याङवेल) स्थित यारीनाग आधारभूत विद्यालयमा स्याङ्बा/स्ह्याङ्बा वंश उत्थान समाजको पाँचौँ ऐतिहासिक भेला मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
केन्द्रीय अध्यक्ष रामचन्द्र स्याङ्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा लामागुरु ङवाङ दोर्जे स्याङ्बा रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्याङ्बाले तामाङ समुदायभित्र रहेका विभिन्न थरहरूमध्ये स्याङ्बो/स्याङ्बा वंशको इतिहासलाई जीवन्त राख्नु आजको आवश्यकता रहेको औंल्याउनुभयो। उहाँले एउटै थर (रूई) लाई स्थान विशेष अनुसार फरक–फरक उच्चारण गरिँदा वास्तविक पहिचानमै अन्योल उत्पन्न हुन सक्ने भन्दै यस्ता विकृतिलाई नियन्त्रण गर्न सबै सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तम्बा संघ नेपालका अध्यक्ष तथा लेखक/सम्पादक खोजराज गोले र त्रिभुवन विश्वविद्यालयका फ्याकल्टी सदस्य तथा भाषा शिक्षण सम्पादक अजितमान तामाङ रहनुभएको थियो। त्यस्तै, जीतबहादुर स्याङ्बा र दिलबहादुर स्याङ्बा लगायत अतिथि रहनुभएको थियो ।
सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। त्रियान म्हाणिपा आमा समूहद्वारा म्हाने मोलम प्रस्तुत गरिएको थियो भने बोम्बोगुरु विकेश स्याङ्बाले सङसेरकेम गर्नुभएको थियो । साथै,ताम्बा गीतले कार्यक्रमको माहोललाई थप आकर्षक बनाएको थियो।
भेलामा देशका २२ जिल्लाबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो,जसले स्याङ्बा वंशबीच एकता, पहिचान र सांस्कृतिक संरक्षणप्रति थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा गुणराज स्याङबाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कालुमान स्याङ्बाले कार्यक्रम संचालान गर्नु भएको थियो ।














