काठमाडौं-प्रतिनिधिसभामा निर्वाचित समानुपातिकतर्फका सदस्यहरुले पनि बिहिबार निर्वाचित भएको प्रमाणपत्र लिए । अब आउने साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र(बालेन) शाह नेतृत्वमा सरकार गठनको तयारी देखिन्छ । झण्डै दुईतिहाइ जनादेशसहित सरकार गठनको तयारीमा जुट्दै गर्दा सबैभन्दा पेचिलो प्रश्न बनेको छ– गृह मन्त्रालय कसले सम्हाल्छ?
प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाहका लागि यो मन्त्रालय केवल प्रशासनिक संयन्त्र होइन, सरकारको ‘एक्सन’ देखाउने प्रमुख प्लाटफर्म पनि हो। त्यसैले क्याबिनेट गठनको गृहकार्य चलिरहँदा सबैभन्दा धेरै छलफल यही मन्त्रालयका बारेमा भइरहेको छ।
अहिले रास्वपाभित्र दुई नाम सबैभन्दा अगाडि छन्– डोलप्रसाद (डीपी) अर्याल र सुनिल लम्साल। दुवैका पक्षमा बलिया आधार छन्, दुवैसँग फरक–फरक शक्ति छ र दुवैको दाबीले पार्टीभित्रको सन्तुलनलाई प्रत्यक्ष रूपमा छोएको नेपालखबर अनलाइनमा खबर छ ।
बालेनको रोजाइ लम्साल
बालेन शाह निकट स्रोतहरूका अनुसार गृह मन्त्रालयमा उनको पहिलो रोजाइ सुनिल लम्साल हुन्।
‘गृहजस्तो एक्सन–ओरिएन्टेड मन्त्रालयमा आफूलाई पूर्ण रूपमा सहज हुने मान्छे चाहिन्छ भन्ने बालेनको बुझाइ हो,’ बालेननिकट एक स्रोत भन्छ, ‘बालेनले १८२ सांसदमध्ये आँखा चिम्लेर सबैभन्दा बढी विश्वास गर्न सक्ने र डेलिभरीका लागि सक्षम ठान्ने व्यक्ति नै सुनिल हुन्। लम्साल गृहमन्त्री हुने सबैभन्दा बलियो आधार नै यही हो।’
लम्साल बालेनका लागि सहकर्मी मात्र होइनन्– विश्वासको केन्द्र हुन्। काठमाडौँ महानगरमा पूर्वाधार विज्ञका रूपमा काम गर्दा उनले देखाएको कार्यक्षमता र नतिजाले बालेनलाई प्रभावित बनाएको छ। यही ‘डेलिभरी’ क्षमताले अहिले उनलाई गृह मन्त्रालयको दाबेदार बनाएको छ।
यसबाहेक, लम्साल बालेनका तर्फबाट प्रस्तावित रास्वपाका महामन्त्री पनि हुन्। यसले उनको भूमिका प्राविधिक वा कार्यान्वयन तहमा सीमित नभई पार्टीको नीतिगत र संगठनात्मक संरचनासम्म फैलिएको देखाउँछ।
अर्को महत्त्वपूर्ण पक्ष– व्यक्तिगत सम्बन्ध। भारतको मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गर्दा बालेन र लम्साल सहपाठी थिए। यो सम्बन्धले राजनीतिक विश्वासलाई अझ गहिरो बनाएको छ। रूपन्देही–१ बाट फराकिलो मतान्तरसहित निर्वाचित लम्साल युवा, प्राविधिक र परिणाममुखी अनुहारका रूपमा प्रस्तुत छन्। बालेनको ‘डेलिभरी–ड्रिभन गभर्नेन्स’ मोडलमा उनी स्वाभाविक रोजाइ जस्तै देखिन्छन्।
डीपी अर्याल स् अनुभव, संकटको साथ र संगठनको भरोसा
गृह मन्त्रालयको दौडमा डीपी अर्याल पनि उत्तिकै बलियो दाबीसहित अगाडि छन्। उनी पार्टीमा पहिलो वरीयताका उपसभापति मात्र होइनन्, संगठनभित्र उनको भूमिका ‘अभिभावक’ जस्तै मानिन्छ।
‘डीपी अर्याल पार्टीको आमाजस्तै हुन्। हरेक दिन पार्टी कार्यालयमा बसेर जनताको कुरा सुन्ने, कार्यकर्ताको गुनासा बुझ्ने काम उनले निरन्तर गरेका छन्,’ रास्वपाका सभापति रवि लामिछानेनिकट एक नेता भन्छन्, ‘संकटको समयमा उनको भूमिका अझ महत्त्वपूर्ण बनेको थियो। सहकारी प्रकरणमा सभापति रवि लामिछाने जेल पर्दा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेर पार्टीलाई स्थिर राख्नु अर्यालको ठूलो राजनीतिक पुँजी हो। यही कारण लामिछाने स्वयं पनि उनलाई गृहमन्त्री बनाउन चाहन्छन्।’
वरिष्ठता, अनुभव र संकटमा दिएको साथलाई हेर्दा डीपीलाई नै गृह दिनुपर्छ भन्ने रविको स्पष्ट अडान रहेको स्रोतको दाबी छ। यसअघि श्रम मन्त्रालय सम्हालिसकेको अनुभव पनि अर्यालको पक्षमा बलियो आधार बनेको छ।
बालेन–रवि समीकरण स् टकराव होइन, सन्तुलनको खोजी
गृह मन्त्रालयको यो बहसले रवि–बालेनबीचको सम्बन्ध र शक्ति सन्तुलनलाई पनि सतहमा ल्याएको छ। एकातिर बालेन आफ्नो ‘डेलिभरी दिन सक्ने टिम’ स्वतन्त्र रूपमा बनाउन चाहन्छन्। अर्कोतिर लामिछाने संगठन, अनुभव र शक्ति सन्तुलनलाई प्राथमिकता दिइरहेका छन्।
बाहिरबाट हेर्दा यो टकराव जस्तो देखिए पनि भित्रभित्रै समझदारीको प्रयास भइरहेको स्रोतहरूको दाबी छ।
‘बाहिर जति हल्ला भए पनि बालेन डीपीप्रति नरम छन्,’ लामिछानेनिकट ती नेताले भने, ‘एक जना उपसभापतिलाई अर्थ मन्त्रालय दिने हो भने अर्को उपसभापतिलाई गृह दिनुपर्छ भन्ने सोच पनि छ। त्यसैले अन्तिम निर्णय सन्तुलनमा टेकेर नै आउँछ।’
अन्तिम विकल्प : मोदी–शाह मोडल?
रास्वपाभित्र अर्को सम्भावना पनि चर्चामा छ— भारतको ‘मोदी–शाह मोडल’।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी हुँदा पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री बनेका थिए। सन् २०१४ देखि २०२० सम्म पार्टी अध्यक्ष बनेका शाह सन् २०१९ यता भारतको गृहमन्त्री छन्।
मोदी प्रधानमन्त्री हुँदा जसरी शाह गृहमन्त्री बने, अहिले त्यही मोडलअनुसार रास्वपामा पनि सभापति रवि लामिछाने आफैँ गृहमन्त्री बन्ने विकल्प खुला रहेको कतिपयको धारणा छ।
यदि लामिछानेमाथि लागेका कानुनी विवादहरू टुंगिएर उनले ‘क्लिन चिट’ पाउने अवस्था बन्यो भने गृह मन्त्रालय उनले सम्हाल्न सक्ने आकलन पनि पार्टीभित्र छ।
‘सुनिल र डीपीको नाममा विवाद चलिरहँदा अन्तिममा रवि नै गृहमा आउने सम्भावना पनि खुला छ,’ रास्वपाका अर्का एक नेताले भने।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। जसउपर चार दिनको सुनुवाइपछि अदालतले निर्णयको फाइल झिकाउन आदेश दिएको छ। अदालतले लामिछानेलाई क्लिनचिट दिने बाटो खुला गरेको अवस्थामा भारतको मोदी–शाह मोडलजस्तै नेपालमा बालेन–रवि मोडलमा सरकार चल्न सक्ने सम्भावना देखिएको हो।
यतिखेर प्रश्न ‘को गृहमन्त्री बन्छ’ भन्ने मात्र होइन– ‘कस्तो सरकार बन्छ’ भन्ने पनि छ। यदि सुनिल गृहमन्त्री बने बालेनको ‘विश्वास र प्रदर्शन’ आधारित नेतृत्व हाबी भएको सन्देश जाने रास्वपाभित्र चर्चा छ। तर, डीपी चयन भए पार्टीभित्रको ‘अनुभव, वरिष्ठता र सन्तुलन’ लाई प्राथमिकता दिइएको मानिनेछ। र, यदि अन्तिममा रवि स्वयं गृहमा आए– शक्ति केन्द्रित नेतृत्व मोडल रोजिएको स्पष्ट संकेत जानेछ।
यतिखेर क्याबिनेट निर्माणलाई लिएर बालेन, रवि र डीपीबीच निरन्तर संवाद चलिरहेको छ। निर्णय जे भए पनि गृह मन्त्रालयको यो चयन रास्वपाको नयाँ सरकारको पहिलो ठूलो राजनीतिक परीक्षण बन्ने निश्चित छ। जसले सरकारकै दिशा चयन पनि गर्न सक्नेछ।
https://nepalkhabar.com/politics/268985-2026-3-19-18-40-45














