धुलिखेल-काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बदन भण्डारी निर्वाचित हुनुभएको छ ।
घण्टी चुनाव चिन्हका भण्डारीले ५३ हजार ३४४ मत प्रप्त गर्नुभयो । प्रतिद्वन्द्वीहरुलाई फराकिलो मतले पराजित गर्दै भण्डारीले काभ्रे २ बाट संसदीय यात्राको बाटो तय गर्नुभएको हो ।
अपराह्न सम्पन्न मत गणना अनुसार नेपाली काँग्रेका उम्मेदवार मधु आचर्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका अशोक ब्यन्जुले १३ हजार ९४० मत प्राप्त गर्नुभयो ।
यो क्षेत्रमा नेकपा चौथो दल बनेको छ । नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईले ८ हजार १०७ मत प्राप्त गर्नुभएको काभ्रे २ नं. क्षेत्र निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जनाएको छ ।
निर्वाचित भण्डारीलाई मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले विजयी भएको घोषणा साथै प्रमाणपत्र प्रदान गर्नुभयो ।

जिल्लाको यो क्षेत्र नेकपा एमालेको दरिलो प्रभाव क्षेत्र मानिन्थे । यस अघि एमाले नेता गोकुल बाँस्कोटाले लगातार २ पटक यसैगरी भारी मतान्तरले जित्नुभएको रेकर्ड छ ।
२०७४ मा आफैं बाम गठबन्धनको उम्मेदवार हुँदा र २०७९ मा काँग्रेस माओवादीको बाम लोकतान्त्रिक गठवन्धन भएर त्यस विरुद्ध एमाले एक्लैको तर्फबाट उम्मेदवार हुदा पनि बाँस्कोटाले फराकिलो मतले जित्नुभएको थियो । करीब ५३ हजार मत ल्याएर निर्वाचित भएको रेकर्ड छ ।
यहाँ उपविजेताको रुपमा काँग्रेस उम्मेदवार हुने गर्थे ।
यो पटक देशभर अधिकांश जनताको नयाँ रोजाईको रुपमा रास्वपाको उदय हुँदै गर्दा यो जिल्लामा पनि एमालेको गढ भत्काउँदै रास्वपा उम्मेदवारले आफ्नो विजयीको झन्डा गाढेको हो । यश अघि पहिलो हुँदै आएको एमाले यो पटक तेस्रो भएको छ ।
















