काभ्रेपलाञ्चोक– समाज परिवर्तनका सवालमा काँग्रेस पार्टीले ठोस उपलब्धि हासिल गर्न नसकेको जनाउँदै नेपाली काँग्रेस नमोबुद्ध नगरपालिका वडा नंं ५ का इकाई सचिव विनोद तामाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेसभित्र नातावाद, कृपावाद र व्यक्तिवाद हावी भएको उहाँको आरोप छ । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च, नमोबुद्ध नगरका निवर्तमान सभापति समेत रहेका तामाङ सोमबार एमाले प्रवेश गर्नुभएको हो ।
उहाँलाई आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ का एमाले उम्मेदवार एवं एमाले केन्द्रिय सदस्य अमित लामाले स्वागत गर्नुभयो ।
देश र जनताको पक्षमा नेकपा एमालेको योगदान र भावी योजना तथा नीति महत्वपूर्ण रहेकोले यसप्रति प्रतिवद्ध भएर लाग्न एमालेमा प्रवेश गरेको उहाँको भनाई छ ।
मुलुक बनाउन एमालेको महा अभियानमा सक्रिय रूपमा लाग्ने उहाँको प्रतिवद्धता छ ।
एमाले उम्मेदवार, युवा नेता लामाले सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा यसरी युवाहरु जोडिनु भएकोमा खुसी व्यक्त गर्दै युवाको सिर्जनशिलता, क्षमताको कदर गर्दै उचित जिम्मेवारीका साथ सबैलाई एक बनाएर अघि बढ्ने बताउनुभयो ।














