धुलिखेल–काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गुणराज मुक्तान विकास र सुशासनप्रति प्रतिवद्ध देखिनुभएको छ ।
निर्वाचन प्रचार अभियान अन्र्तगत स्थानीय जनताका घरदैलो अभियानदेखि हालै जेनजी पुस्तामाझ आयोजित संवादसम्म आगामी आफ्नो नीति, योजना अघि सार्दै यसबारे आफ्ना प्रतिवद्धता जाहेर गर्नुभयो ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनको मुल जगमा हुन लागेको निर्वाचनमा जेनजीपुस्ता लगायत मुलुकको समृद्धिकै योजना बोकेर मैदानमा उत्रेको उहाँको भनाई छ ।
पनौतीमा आयोजित जेनजी संगको प्रत्यक्ष संवादमा उहाँले मुलुकको विकास सोचे जसरी अगाडि बढ्न नसकेकेमा केहि बेथितीहरु पनि रहेको औंल्याउँदै यसबारे नव युवाको चासो रहनु सकारात्मक रहेको उहाँको धारणा छ ।
जेनजीका सवाल, समस्या र समाधानका उपायबारे आफ्नो धारणा प्रष्ट रहेको उहाँको भनाई छ । भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शीता, रोजगारी, सहभागिता राजनीतिक दलहरुको जवाफदेहीता, नातावाद र कृपावादको अन्त्य, शिक्षा र स्वास्थ्यको महंगी नियन्त्रण युवाको माग रहेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै मुक्तानले यसमा आफ्नो प्रतिवद्धता जनाउनुभएको थियो ।
कांग्रेस उम्मेदवार मुक्तानले आफ्नो निर्वाचन क्षेत्रको सम्भावना, चुनौतीबारे जानकार रहेको जनाउँदै सबै पालिकामा आवश्यकताको पहिचान गरी समान विकास गर्ने उहाँको स्पष्टोक्ती छ ।
लामो समय पार्टीको अग्र मोर्चा साथै संघसंस्था मार्फत जिल्लाको पूर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवद्र्धन लगायत सामाजिक रुपान्तरणमा काम गरेको अनुभव र अहिलेको चुनावी घरदैलो अभियानका क्रममा पाएको जनताको प्रतिक्रिया अनुसार काँग्रेस र आफूलाई उनिहरुले भरोसाको रुपमा लिएको मुक्तानको दाबी छ ।
यहि फागुन २१ गते हुने निर्वाचनमा जनताले मत जाहेर गरेर त्यस खालको भाव प्रमाणित गर्ने उहाँको विश्वास छ । जेनजी पुस्ताको आन्दोलन पश्चात भएको पार्टीको विशेष महाधिवेशन, लिएको नीति, कार्यक्रम र यसबाट चुनिएको नेतृत्वका कारण पनि जनतामा साकारात्मक आशा जागेको उहाँको जिकिर छ ।
पुस्तान्तरणको मुद्धामा गतिलो सन्देश दिदै बदलिएको काँग्रेसले मुलुक रुपान्तरणकै लागि आफू जस्ता युवाहरुलाई जनतामाझ पठाएको उम्मेदवार मोक्तान बताउनुहुन्छ । यसमा आफ्नो सिर्जनसिलता, दीर्घकालिन सोच तथा समय काभ्रेली जनताका लागि समर्पण गर्ने उहाँको भनाई छ ।
काभ्रे क्षेत्र नं. १ अन्तर्गतका भुगोल धुलिखेल, पनौती, नमोबुद्ध नगरबासीदेखि, रोशी, महाभारत, खानीखोला तेमाल र चौरीदेउराली गाउँपालिकाका जनताले आमुल परिवर्तन चाहेको जनाउँदै उहाँ आफू त्यसलाई सम्बोधन गर्न सक्षम रहेको बताउनुहुन्छ ।
आम युवा, महिला, आदिवासी जनजाति, किसान, मजदुरका सवाल स्थापित गर्न सदनमा पुगेर नीतिगत पहलकदमीदेखि योजना, बजेट निर्माण र कार्यन्वयनसम्म सशक्त भएर लाग्ने प्रण मुक्तानको छ ।














