शिशिर दोङ,काभ्रेपलान्चोक – शनिबार धुलिखेलस्थित धुलिखेल हाई स्कुलको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका डा. रामकण्ठ माकजुले संस्कारसहितको शिक्षा नै वास्तविक गुणस्तरीय शिक्षा हुने बताउनुभएको छ।
धुलिखेल अस्पतालका संस्थापक संरक्षक एवं प्रबन्ध निर्देशक तथा काठमाडौँ विश्वविद्यालयका पुर्व उपकुलपति समेत रहनुभएका माकजुले बालबालिकालाई सिक्न चाहेका विषयमा स्वतन्त्र वातावरण दिनुपर्ने, तर त्यो स्वतन्त्रता संस्कार र अनुशासन भित्र हुनुपर्नेमा जोड दिनुभयो।

यसै अवसरमा विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो,“बालबालिकालाई सिक्न चाहेको कुरामा स्वतन्त्र छोड्नुपर्छ। यसको अर्थ संस्कार र अनुशासित ढङ्गले सिक्न दिनु हो। यस्तो शिक्षा नै दीर्घकालीन हुन्छ। संस्कारसहितको शिक्षा नै गुणस्तरीय शिक्षा हो।”

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक कार्यक्रमले विद्यालयमा संस्कारयुक्त शिक्षाको अभ्यास भइरहेको संकेत गरेको उहाँको भनाइ थियो।
यस क्रममा उहाँले धुलिखेल क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको उल्लेख गर्दै भन्नुभयो,“धुलिखेलमा नपुगेको के छ र ? आमाबुबा, बाजे–बज्यैको ओछ्यानसम्म हामीले नै पढाएका नर्स र डाक्टर पुगिसकेका छन्।”

यसै कार्यक्रममा २०८१ सालमा विद्यालयबाट सतप्रतिशत सफलता हासिल गरेका ४२ जना विद्यार्थीका साथै उत्कृष्ट शिक्षिका मामुली मण्डललाई विद्यालयलमा गुणस्तरीय शिक्षाका लागि पुर्याएको योग्दानको उच्चा मुल्यांकन गर्दै विद्यालयले सम्मान गरेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि धुलिखेल नगरपालिका शिक्षा, युवा तथा खेलकुद समन्वय इकाइ प्रमुख भोजराज ठकुरी, प्रबन्ध निर्देशक अनमोल माकजु, प्रधानाध्यापक आशिफ माकजु तथा अभिभावकका तर्फबाट विकास लामाले मन्तव्य राख्नुभएको थियो। विद्यालय सञ्चालक समितिका अध्यक्ष चुनियालाल माकजुको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालयकी शिक्षिका दीपिका अधिकारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।















