भोजपुर- कोहि मानिस आफ्ना लागि मात्र हैन समाजको लागि चिन्तन गर्दछन्, अझ धेरै सामाजिक उत्तरदायित्व बोध गर्छन्, सेवामै खुसी पहिल्याउँछन्  । भोजपुर जिल्लाको अरुण गाउँपालिका–५ निवासी समाजसेवी, साहित्यकार तथा शिक्षिका प्रतिमा पोख्रेल यस्तै एक पात्र हुनुहुन्छ ।  उहाँ शिक्षण पेसासँगै साहित्य र सामाजिक सेवामा निरन्तर रुपमा जोडिदै आउनुभएको छ ।

वि.सं. २०७३ सालदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका पोख्रेलले विभिन्न विद्यालयमा अध्ययनरत अनाथ, अभिभावकविहीन तथा निम्न वर्गका जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय पोसाक, शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण कार्यलाई निरन्तरता दिनुभएको हो ।

उहाँले २०८२ सालमा पनि विभिन्न विद्यालयमा पुगेर सहयोग वितरण गर्नुभ यो । विश्वप्रेमी माध्यमिक विद्यालयमा अध्ययनरत बिपिला कटुवाल र निश्चल राई लाई छात्रवृत्ति प्रदान गरिएको छ भने श्री सगरमाथा माध्यमिक विद्यालयमा अध्ययनरत सूर्य कोइराला र मनिका राई लाई पनि छात्रवृत्ति वितरण गरिएको छ।

त्यसैगरी श्री पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत पुनम बि.क., सिर्जना श्रेष्ठ, गणेश तामाङ, सबिता रम्तेल र सोधे श्रेष्ठ लाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालय र घरायसी जिम्मेवारीका बाबजुद पनि विभिन्न मितिमा विभिन्न विद्यालयमा पुगेर सहयोग सामग्री तथा छात्रवृत्ति रकम वितरण गर्दै आउनुभएका पोख्रेललाई स्थानीयस्तरमा ‘मनकी धनी’ उपनामले चिनिन थालिएको छ।

शिक्षण पेसासँगै साहित्य र समाजसेवामा विशेष रुचि राख्ने उहाँ एक ऊर्जाशील युवा शिक्षिकाका रूपमा परिचित हुनुहुन्छ । केही वर्षअघि उहाँले अरुण गाउँपालिका–५ निवासी कुमारी ढकाललाई सानो रकमको मासिक भत्ता समेत केही समयसम्म उपलब्ध गराउनुभएको थियो ।

उहाँको निरन्तर सामाजिक योगदानप्रति विद्यालय , अभिभावक, स्थानीय समुदाय तथा विभिन्न बुद्धिजीवी वर्ग निकै खुसी देखिन्छन् ।  उहाँ ‘उदाहरणीय शिक्षिका’ का रूपमा सम्मानित  हुँदै आउनुभएको छ ।  पोख्रेलको यस्तो योगदानले भोजपुर जिल्लामात्र नभई कोशी प्रदेशकै एक नमूना शिक्षिकाको पहिचान बनाएको स्थानीयको भनाइ छ ।

आफ्नो सामाजिक यात्राबारे प्रतिमा पोख्रेल भन्नुहुन्छ, “सानै देखि वृद्ध, असहाय, अनाथ तथा अभिभावकविहीन बालबालिकाको अवस्था देख्दा मन पिरोलिन्थ्यो। शिक्षण पेसाबाट प्राप्त आम्दानीमध्ये घरखर्चबाट केही रकम कटौती गरेर मैले यो कार्य निरन्तर गर्दै आएको हुँ। यो कार्य न त धन कमाउनका लागि हो, न त कुनै पद, लालच वा राजनीतिक उद्देश्यका लागि। कसैबाट हात थापेर होइन, मेरो एकल प्रयास र मनले गरेको काम हो।”

उहाँले आफ्नो नाम प्रचारका लागि नभई सक्दो क्षमतासम्म सहयोगी भावनालाई जीवित राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  “अरूले मेरो नाम चिन्नु स्वाभाविक हो, तर यही नै उद्देश्य होइन। आफ्नो सामर्थ्य रहुन्जेल यो कार्य निरन्तर गर्नेछु,” उहाँ भन्नुहुन्छ ।

इन्द्रबहादुर पोख्रेल र देवमाया पोख्रेलकी छोरी प्रतिमा पोख्रेल छ सन्तानमध्येकी एक्ली छोरी हुनुहुन्छ । हाल उहाँ शिक्षण पेसामा आवद्ध रहँदै शिक्षण, साहित्य र समाजसेवामा अहोरात्र तल्लिन रहँदै आउनुभएको छ ।  गरिब, दुःखी र असहायको मनमनमा बस्न सफल पोख्रेल आज समाजका लागि प्रेरणादायी पात्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !