काठमाडौं–मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार भव्यताका साथ मनाईने भएको छ । मञ्जुश्री तत्व ज्योतिष विज्ञानमा आधारित चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुने ल्होछार अन्र्तगत यो पटक ता ल्हो(घोडा वर्ष) मनाइन लागिएको राष्ट्रिय सोनाम ल्होछार–२८६२ ता ल्होछार मूल समारोह समितिले जनाएको छ ।
समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार ल्होछारको अवसरमा यहि माघ ४ र ५ गते राजधानीको टुंडिखेलमा बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको ल्होछार परम्परालाई थप पुर्नस्थापित गर्न प्रत्येक वर्ष झैं यो पटक पनि टुंडिखेलमा ल्होछार मनाउन लागिएको राष्ट्रिय सोनाम ल्होछार–२८६२ ता ल्होछार मूल समारोह समितिका संयोजक मोहन गोले तामाङले बताउनुभयो ।
नेपाल तामाङ घेदुङका अध्यक्ष समेत रहनुभएका गोलेका अनुसार नेपाल तामाङ घेदुङ, राष्ट्रिय तामाङ घेदुङ लगायत तामाङका विभिन्न संघसंस्थाहरु मिलेर आयोजना गरिएको महोत्सवको औपचारिक उद्घाटन माघ ५ गते प्रधानमन्त्री शुशिला कार्कीको प्रमुख आतिथ्यतामा हुने तय भएको छ ।
महोत्सवलाई सभ्य र भव्य बनाउन तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्बो तथा लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरूको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथी ख्याती प्राप्त अतिथि कलाकारहरूको प्रस्तुती राखिएको घेदुङका महासचिव जगतमान दोङले बताउनुभयो ।
यसका साथै तामाङ समुदायको विशेष खानाको परिकारहरू, तामाङ भेषभूषाहरू, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य तामाङ जातिको पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा विक्री तथा प्रदर्शनी गरिने पनि उहाँले जानकारी गराउनुभयो ।
सोनाम ल्होछार मुल समारोह समितिले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्गको रुपमा रहेको र यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्छ ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार कार्यक्रम विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामुहिक प्रितिभोज र सांस्कृतिक कार्यक्रम गरेर मनाउने गर्दछन् ।
ल्हो को अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् अर्थात तामाङ भाषामा पनि भनिन्छ । विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्होको नाम राखिएको हुन्छ । बाह्न ल्हो मध्ये प्रत्येक वर्ष एकएक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोवा वा ल्होछार भनिन्छ ।
यो परम्परा कहिले शुरु भएको भन्न नसकिएपनि यसलाई चिनियां सभ्यतासँगै आजभन्दा ४७०० वर्ष अगाडि विकास भएको कुरा चिनियां ज्योतिषशास्त्रको इतिहासबाट प्रमाणित हुने प्रेस विज्ञप्तिमा उल्लेख छ । यो ल्होछार पर्व नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाईलाण्ड, ताईवान, मलेशिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँवर्ष) मनाउने गर्छन् ।
नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिड्सा, ताङ्के, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।















