काठमाडौं–मञ्जुश्री संवत् २८६२ ता(घोडा) सोनाम ल्होछार औपचारिक रुपमा यहि माघ ४ र ५ गते बृहत तामाङ सांस्कृतिक महोत्सवका साथ मनाइने भएको छ ।
राजधानीको टुंडिखेलमा बृहत तामाङ ल्होछार सांस्कृतिक महोत्सवको आयोजना गरेको राष्ट्रिय सोनाम ल्होछार २८६२ ता ल्हो मुल समारोह समितिले जनाएको छ ।
आयोजकका अनुसार माघ ४ गते साँझ चर्चित कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुती रहनेछ भने माघ ५ गते विहान ११ बजे लामा, ताम्बा र बोन्बोद्धारा सांस्कृतिक झाँकी प्रस्तुती पछि दिउँसो १२ बजे बृहत तामाङ सांस्कृति महोत्सव तथा ल्होछार कार्यक्रमको समुद्घाटन गर्ने तय भएको छ ।
प्रधानमन्त्री सुशिला कार्कीको बाहुलीद्धारा महोत्सवको औपचारिक उद्घाटन गरिने नेपाल तामाङ घेदुङका महासचिव जगतमान दोङले जानकारी दिनुभयो ।
महोत्सवमा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती, भेषभूषा, खाना, कलाकृति सहितको प्रदर्शनी लगायत पनि आकर्षणको रुपमा रहने दोङले बताउनुभयो ।

नेपाल लगायत विश्वभरका तामाङ समुदायले मञ्जुश्री तत्व ज्योतिष पात्रो अनुसार धार्मिक, सांस्कृतिक सामाजिक महत्वको सोनाम ल्होछार(नयाँ वर्ष)लाई महत्वपूर्ण पर्वकै रुपमा मनाउने प्रचलन छ ।
यो समुदायमा शुभकामना आदानप्रदान, पुजापाठ, आफन्तजन भेटघाट तथा मान्यजनबाट आर्शिवाद ग्रहण, मिठोमसिनो खानपिनका साथै सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाउने प्रचलन रहेको हो ।














