काठमाडौं– नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्र्धन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा प्रदान गर्दै आएको ‘प्रतिभा विशिष्ट सम्मान’ र ‘प्रतिभा पुरस्कार’ यो वर्ष काठमाडौंमा गत सोमबार आयोजित भव्य समारोहका बीच प्रदान गरिएको छ ।

संस्थाका उपाध्यक्ष मिजास तेम्बेको सभाध्यक्षता र वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा यस वर्षको ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई प्रदान गरिएको हो ।

प्रमुख अतिथि काइँलाले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो । सम्मान तथा पुरस्कारमा नगद १ लाख रुपियाँ, सम्मानपत्र, दोसल्ला र मालासहित समर्पण थैली प्रदान गरिएको थियो ।

सम्मानपछि बोल्नुहुदै प्रमुख अतिथि काइँलाले भन्नुभयो— “प्रवासबाट पनि सिर्जनालाई सम्बल दिँदै र प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै नेपाली साहित्यको समृद्धिमा संस्थाले विशिष्ट योगदान दिएको छ ।”

उहाँले किरातीलाई भुइँमानिसको पीडा र मुन्दुमीय चेतनालाई साहित्यमा उतार्ने अद्वितीय स्रष्टा तथा चौधरीलाई मधेसी समाजको जीवन–संवेदना र भविष्यको आशा बोकेकी उदीयमान प्रतिभाका रूपमा उच्च मूल्यांकन गर्नुभयो ।

सम्मानित प्रतिभा जसराज किरातीले सम्मान ग्रहणपछि भावुक हुँदै भन्नुभयो— “यो सम्मान पाउँदा बढो हर्ष लागेको छ । अझै बाँचेर केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।”

पुरस्कृत विजेता चौधरीलेले भन्नुभयो— “मैले कल्पना पनि नगरेको पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो पुरस्कारले मातृभाषा र मधेशलाई सम्मान गरेको छ ।”

कवि श्रवण मुकारुङले सम्मान तथा पुरस्कार चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक लागेको बताउनुभयो । उहाँले भन्नुभयो— “कहिलेकाहीँ पुरस्कार छनोटमा पनि हिंसा हुने गर्दछ । तर, प्रतिभा प्रतिष्ठानको प्रक्रिया भने निष्पक्ष र अनुकरणीय रहेछ ।”

प्राज्ञ शशी लुमुम्बूले सञ्चालनमा भएको कार्यक्रममा पूर्व अध्यक्ष गणेश राईले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने डा. तुलसी गौतमले दुवै प्रतिभाको परिचय प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !