भोजपुर–अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयले विद्यालयको दीगो आम्दानी स्रोत विकास गर्ने लक्ष्यसहित सांस्कृतिक अभियान थालेको छ ।
अभियान अन्र्तगत यो पटक सिक्रेटार साँझ २०८२ (देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम) आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति र वडा नं. ७ का अध्यक्ष कुमार थापाले बताउनुभयो । यो पहिलो कार्यक्रमबाट नै झण्डै चार लाख रुपैयाँ संकलन गरिएको छ ।
विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले स्थानीयवासीहरूको सक्रिय पहलमा सम्पन्न यस कार्यक्रमले समुदायमा नयाँ उत्साह थपेको अध्यक्ष थापाको भनाई छ ।
स्थानीयको साथ र कलाकारहरूको निःशुल्क योगदानले अभियान सफल भएको बताउँदै उहाँले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर गर्दै जाने योजना रहेको जनाउनुभयो ।
यस खालको कार्यक्रमले स्थानीय शिक्षा र संस्कृति दुबैलाई बलियो बनाउने सहभागिहरुको विश्वास छ ।
कार्यक्रममा लोकगायक शुकदेव अधिकारी, स्थानीय कलाकारहरू बीरबहादुर लिम्बु, तेजेन्द्र गन्धर्व, मनीपाल राई र टीका मगर लगायतका कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिनुभएको थियो । उक्त सांस्कृतिक साँझ कार्यक्रममा लेखक, निर्देशक तथा कलाकार जीवन थापा ‘क्षितिज’को विशेष उपस्थिति रहेको थियो ।
विद्यालयले विभिन्न क्षेत्रका कलाकारहरूलाई सम्मानपत्र प्रदान गरेको थियो ।
विद्यालयले यसअघि एसईईमा सबै विद्यार्थी उतीर्ण गराउँदै गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गरेको थियो । सो उपलब्धि र सहयोग अभियानलाई उदाहरणीय ठहर गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि थप सहयोग उपलब्ध गराइने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।














