धुलिखेल–कान्छीमाया तामाङ फाउण्डेशन र ताइवानी विशेषज्ञ चिकित्सक तथा ताइवानी स्वास्थ्यकर्मीहरुद्धारा यहि कात्तिक २२ गते शनिबारदेखि काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहहरुमा सञ्चालनमा ल्याएको निशुल्क स्वास्थ्य शिविर जारी रहेको छ ।
जिल्लाका विभिन्न ५ स्थानीय तहमा शिविर गर्ने निर्धारित कार्ययोजना अनुसार अहिलेसम्म ४ स्थानीय तह क्षेत्रमा स्वास्थ्य शिविर सम्पन्न भइसकेको फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकर तामाङले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म करीव २ हजार ५ सय जनाले सेवा लिएका छन् ।
कात्तिक २२ र २३ गते पाँचखाल नगरपालिका १२ बालुवा स्थित श्री आजाद मावि प्रांगणमा सञ्चालित शिविरमा ७५० जना, कात्तिक २४ गते बेथानचोक गाउँपालिका ५ च्याल्टी स्थित श्री आत्मा विकास मावि प्रांगणमा आयोजित शिविरमा ४२० जना, कात्तिक २५ गते रोशी गाउँपालिका ९ मंगलटार स्थित श्री मंगल जनविजय मावि प्रांगणमा आयोजित शिविरमा ५४७ जना र कात्तिक २६ गते बुधबार धुलिखेल नगरपालिका ८ बडालगाउँ स्थित बाल विनायक आधारभूत विद्यालयको प्रांगणमा सञ्चालित शिविरमा ७८३ जनाले निशुल्क सेवा लिएका छन् ।
रोशीको मंगलटारमा आयोजित शिविरमा भने छिमेकी तेमाल गाउँपालिका वडा नं. ५ र वडा नं. ८ का स्थानीय बासिन्दाले पनि सेवा लिएका थिए ।
यो पटक हालसम्म सञ्चालित ४ स्थानका शिविरहरूमा सेवा लिन आउनेमा आँखा समस्या र हाडजोर्नी दुखाइका बिरामीहरू सबैभन्दा बढी भेटिएका फाउण्डेशनका अध्यक्ष डा.थोकरले बताउनुभयो ।
शिविरमा सामान्य स्वास्थ्य जाँच (ओपिडी), दन्तरोग सेवा, छाला तथा यौन रोग सेवा,आँखा जाँच सेवा, स्त्री रोग सेवा, अकुपञ्चर तथा हाडजोर्नी दुखाई जाँच, सामान्य सर्जिकल सेवा, निःशुल्क औषधी वितरणका साथै रेफरल सेवा समेत उपलब्ध गराइदै आएको उहाँले स्पष्ट पार्नुभयो ।
आफ्नै गाउँठाउँमा निशुल्क स्वास्थ्य सेवा लिन पाएकामा स्थानीय खुसी देखिएका छन् । सम्बन्धित स्थानीय सरकार आयोजक रहेर सहकार्य गरी सञ्चालनमा ल्याएको शिविर प्रभावकारी देखिएको फउण्डेशनका अध्यक्ष डा. थोकरको भनाई छ ।
उहाँले भन्नुभयो, “स्थानीय सरकारहरूको विशेष सहकार्यमा स्वास्थ्य शिविरहरू सफलतापूर्वक सञ्चालन गरिरहेका छौं, स्थानीय नागरिकको स्वास्थ्य स्तर उकास्ने उद्धेश्यले हाम्रो अभियान जारी छ ।”
अब यहि कात्तिक २७ गते बिहिबार मण्डनदेउपुर नगरपालिका–४ स्थित श्री महाकाली विद्यालय प्रांगणमा यहि प्रकृतिको शिविर सञ्चालन गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
शिविरमा ताइवानी विशेषज्ञ चिकित्सक र ताइवानी स्वास्थ्यकर्मीका साथै स्थानीय सरकारका स्वास्थ्य कार्यकर्ता एवं स्वयंसेवकहरुले सेवा प्रदान गर्दै आएका छन् ।
शिविरका लागि कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल तथा फाउण्डेशनद्धारा सञ्चालित कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल सुनापति २ गाल्पा रामेछापको समन्वय एवं सहकार्य र ताइवान रूट मेडिकल पिस क्रप्स ताइवानको प्राविधिक सहयोग रहेको छ ।

















