धुलिखेल–कान्छीमाया तामाङ फाउण्डेशन र ताइवानी विशेषज्ञ चिकित्सक तथा ताइवानी स्वास्थ्यकर्मीहरुद्धारा आउने शनिबारदेखि काभ्रेका विभिन्न स्थानीय तहहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

स्थानीय सरकारहरुसंगको सहकार्यमा यहि कात्तिक २२ गते शनिबारदेखि कात्तिक २७ गते बिहिबारसम्म ५ वटा पालिकाहरुमा पुगेर स्वास्थ्य शिविर गर्ने तयारी पूरा भएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार कात्तिक २२ र २३ गते पाँचखाल नगरपालिका १२ बालुवा स्थित श्री आजाद मावि प्रांगण, कात्तिक २४ गते बेथानचोक गाउँपालिका ५ च्याल्टी स्थित श्री आत्मा विकास मावि प्रांगण , कात्तिक २५ गते रोशी गाउँपालिका ९ मंगलटार स्थित श्री मंगल जनविजय मावि प्रांगण, कात्तिक २६ गते धुलिखेल नगरपालिका ८ बडालगाउँ स्थित बाल विनायक आधारभूत विद्यालयको प्रांगण र कात्तिक २७ गते मण्डनदेउपुर नगरपालिका ४ स्थित श्री महाकाली विद्यालय प्रांगणमा स्वास्थ्य शिविर हुने भएको हो ।

शिविरमा सामान्य स्वास्थ्य जाँच (ओपिडी), दन्तरोग सेवा, छाला तथा यौन रोग सेवा,आँखा जाँच सेवा, स्त्री रोग सेवा, अकुपञ्चर तथा हाडजोर्नी दुखाई जाँच, सामान्य सर्जिकल सेवा, निःशुल्क औषधी वितरणका साथै रेफरल सेवा समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

सम्बन्धित स्थानीय सरकार आयोजक रहेको शिविरमा कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल तथा फाउण्डेशनद्धारा सञ्चालित कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल सुनापति २ गाल्पा रामेछापको समन्वय एवं सहकार्य र ताइवान रूट मेडिकल पिस क्रप्स ताइवानको प्राविधिक सहयोग रहेको छ ।

शिविरमा १५ जना ताइवानी विशेषज्ञ चिकित्सक र २२ जना ताइवानी स्वास्थ्यकर्मीका साथै स्वयंसेवकको रुपमा नेपालका अन्य स्वास्थ्यकर्मीहरुले पनि सेवा प्रदान गर्नेछन् ।

विपन्न, असहाय वर्ग एवं पिछडिएका ग्रामीण बस्तीहरुमा स्वास्थ्य, शिक्षा, खानेपानी कार्यक्रमका साथै विपतहरुमा आपतकालिन राहत कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको फाउण्डेशनले नागरिकको स्वास्थ्य सुधारका लागि काभ्रेका गाउँ बस्तीहरुमा पुगेर बृहत निशुल्क स्वास्थ्य शिविर गर्न लागेको फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले स्पष्ट पार्नुभयो ।

साथै अध्यक्ष तामाङले निशुल्क स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !