
काठमाडौं–नेपाल बौद्ध शान्ती समाजका संघीय अध्यक्ष लामा गुरु पाल्साङ बज्र लामाले शनिबार आफ्नो ५६ औं जन्मोत्सवको अवसरमा बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण मानिएको भिक्षु शील (राबज्युङ दोम्बा) ग्रहण गर्नु भएको छ ।
विगत लामो समय देखि सामाजिक तथा धार्मिक कार्यहरु मार्फत समुदायमा महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको उहाँले आज एक धार्मिक समारोहबीच धर्म गुरु खेन्पो कर्म तेन्जिङ ल्हुन्डुपबाट शील ग्रहण गर्नु भएको हो ।
धर्म गुरुबाट शील ग्रहण पश्चात आयोजित औपचारीक कार्यक्रममा लामा गुरु लामाले अब आफू संसारिक माया र मोहको जाल तोडेर बहुजन हित बहुजन सुखको निमित्त लागि पर्ने बताउनभयो ।
उहाँले भन्नुभयो, ‘जहाँ पुगेपनि, गएपनि बुद्ध धर्मको प्रचारप्रसार गरेर संसारलाई उद्धार गर्ने गरी समाजमा अगाडि बढ्ने प्रण लिएको छु ।’
उहाँका अनुसार पूर्ण भिक्षु शील ग्रहण भने हङकङबाट क्याब्जे सेरब रम्पोछे फर्किनुभएपछि ग्रहण गर्ने तयारी रहेको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघका बरिष्ठ उपाध्यक्ष तिर्थमान वल तामाङ र नेपाल बौद्ध शान्ती समाजको तर्फबाट संस्कृति विभाग प्रमुख सूर्यमान तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि द्धयले लामा गुरु पाल्साङ बज्र लामाले रोज्नुभएको बाटो जोकोहीको लागि सहज नभएको उल्लेख गर्दै संसारिक माया र मोहको जाल तोड्ने आँट गर्नुभएकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।
भिक्षु शील ग्रहण कार्यले पूर्ण रुपमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यस खालको कदमले बौद्धधर्म प्रवद्र्धन तथा संसारको हित कार्यमा महत्वपूर्ण टेवा पुग्ने उहाँहरुको भनाई छ ।
साविकको मकवानपुर जिल्ला, नारायणी अञ्चल गढी गाविस वडा नं. ३ (हालको बागमती प्रदेश मकवानपुर जिल्ला गढी गाउँपालिका वडा नं. २) मा विं. सं. २०२६ साल साउन २४ गते आपा पदम बहादुर वाइबा र आमा बालकुमारी डिम्डुङको कोखबाट जन्मनुभएका लामागुरु पाल्साङ बज्र लामाले विभिन्न संघसंस्थामार्फत राजनीतिक, समाजिक तथा सांस्कृतिक जागरण तथा रुपान्तरणमा संघर्षमय यात्रा गर्नुभयो ।
२०४३ सालमा नेकपा एमालेको सदस्य हुनुभएका लामा २०४४ सालमा नेपाल तामाङ घेदुङको सचिवालय सदस्य, २०४९ मा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुदै २०५४ सालमा गढी गाविस वडा नं. ३ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
२०५९ मा नेपाल तामाङ लामा घेदुङको महासचिव हुदै २०६४ मा सहअध्यक्ष हुनुभएको थियो । २०६२ मा भएको नेपाल तामाङ घेदुङको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सचिव समेत हुनुभएको थियो ।
२०७५ मा बुद्धधर्म अन्र्तगतको ल्होसुम ज्ञान साधना सुरुवात गर्नुभएका उहाँले २०७८ मा पूर्ण रुपमा यो ज्ञान हासील गर्नुभएको थियो ।
२०७९ मा नेपाल बौद्ध शान्ती समाजको स्थापना गरी यसमार्फत बौद्ध धर्मको संरक्षण प्रवद्र्धनमा देशव्यापी अभियानमा रहनुभएका लामा गुरु पाल्साङ बज्र लामाले गृहस्थी जीवन त्यागेर भिक्षु शील ग्रहण गर्नुभएको हो ।