
तेमाल–काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ५ स्थित सत्यनारायणको मन्दिरमा यो वर्ष भव्य मेला लागेको छ ।
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाको बेला(गोन्हेङ्या–जनैपूर्णिमा) मा हुने गरेको यो जात्रा यो पटक भव्य रुपमा सम्पन्न भएको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले जानकारी दिनुभयो ।
दर्शनार्थीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सहज दर्शनका लागि भिड सहजिकरण, खानेपानीको व्यवस्था, स्वास्थ्य शिविर सञ्चालन, सुरक्षा व्यवस्थापन लगायतका क्षेत्रमा गाउँपालिका स्वयं र स्थानीय संघसंस्थाहरु समेत सक्रियतापूर्वक खटेको अध्यक्ष तामाङले बताउनुभयो ।
यो पटकको करीव ५० हजारले मेला भरेका छन् । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष दोब्बरले मेला भरेको अनुमान गरिएको छ ।
बोन्बो तथा स्थानीयलाई मेलामा जुट्न स्थानीय वडाहरुले समेत साथ दिएको पाईएको छ । वडा नं. २, वडा नं. ६ लगायतका वडाहरुले यो जात्राको प्रवद्र्धनका लागि स्थानीय रुपमा बोन्बो सहभागिताको संयोजन गरेका हुन् ।
धार्मिक आस्था मान्ने र घुमफिरका लागि समेत रमणीय यो क्षेत्रमा दर्शनार्थी एवं पर्यटक आगमनमा सहज होस् भनि पछिल्लो हप्ता गाउँपालिकाले मुख्य सडकहरुको मर्मतसम्भार समेत गरेको थियो । गाउँपालिकाको तदारुकताका कारण पनि यो वर्ष जात्रामा श्रद्धालुको आकर्षण बढेको जनाईएको छ ।
परम्परागत झाँकीमाका साथ सहभागि हुने बोन्बोहरु यहाँको सत्य नारयणलाई नारायण महादेवको रुपमा पुज्दछन् । यहाँको धार्मिक एवं ऐतिहासीक नारायणको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहि आएको छ ।
नारायण मन्दिर छेउको चौरमा अवस्थित स्वयम्भू बौद्ध नमोबुद्धमा छ्युमे बत्ति बाल्नेहरु पनि उत्तिकै देखिएका छन् । मेला तथा जात्रा भर्न तेमाल तथा आसपासका गाउँपालिका र छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरु सहभागि भएका छन् ।