काठमाडौं—लेखक तथा खोज अनुसन्धानकर्ता रविन्द्र तामाङ र सोनी तामाङद्धारा संकलित ‘तामाङ लोककथा सँगालो’ माथि शनिबार राजधानीमा तामाङ पत्रकार संघ संघीय समितिले आयोजना गरेको भव्य समारोहका बीच अन्तरक्रिया गरिएको छ ।
नेपाल सरकारका पूर्वसचिव धन बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार फूलमान वल, सहप्राध्यापक विमला नेपाल, उपप्राध्यापक कुमारी लामा र साहित्यकार विना थिङले विचार विमर्श गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि धन बहादुर तामाङले तामाङ जातिको इतिहास, संस्कृति र सभ्यताको संरक्षण र विकासका लागि तामाङ लोककथाहरुको योगदान महत्वपूर्ण रहने बताउनुभयो ।
समुदायको यथार्थ कुरा स्थापित गर्न लोक कथाहरुले भुमिका खेल्ने जनाउँदै उहाँले यसरी तामाङ विषयहरुमाथि लेखनको काम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
तामाङ इतिहासका धेरै कुरा अझै अध्ययनकै विषय रहेको औंल्याउँदै उहाँले समुदायलाई सहि दिशा निर्देश गर्ने गरी तामाङ लोककथा लगायतका सामाग्रीहरु आउनुपर्नेमा जोड दिनुभयो ।
सहप्राध्यापक विमला नेपालले रविन्द्र तामाङ र सोनी तामाङद्धारा संकलित लोककथाहरु राम्रा भएको बताउनुभयो । नेपाली साहित्य क्षेत्रमा आएको यो कृति सबैको साझा भएको उल्लेख गर्दै सबै जातिजाति समुदायले उत्तिकै सम्मान गर्नुपर्ने बताउनुभयो ।
सँगालोमा रहेको कथाहरुले समुदायको धार्मिक, ऐतिहासिक र सामाजिक पाटोलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । लोककथाहरुले जीवनकै कुराहरु ल्याउने भएकोले दन्त्यकथा जस्तो लाग्न नहुने उहाँको धारणा छ ।
संकलित लोककथाहरू छोटा, मिठा, सरल शैलीमा रहेको बताउँदै उहाँले यसलाई परिमार्जित गरी पाठ्यक्रममा राख्न सकिने उल्लेख गर्नुभयो ।
साहित्यकार फूलमान वलले समुदायको इतिहास, संस्कृति, जीवन तथा सभ्यताको संरक्षण लोककथाहरुले सशक्त रुपमा गर्न सकिने उल्लेख गर्दै यस खालको महत्वपूर्ण कार्य संकलकद्धयले गरेको बताउनुभयो । उहाँले तामाङ लोककथाहरु संकलन गर्ने कार्य रविन्द्र तामाङले झैं अरुले पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
आज संकलन गरि ल्याएका लोककथाहरु हिजोको तामाङ जीवनका महत्वपूर्ण पाटो रहेको जनाउँदै वलले समय अनुसार लोककथाहरुलाई परिस्कृत गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
साहित्यकार वलले तामाङ अब लोककथामा तामाङ मौलिक शैली स्थापित गर्दै जान सकिने विचार पनि व्यक्त गर्नुभयो ।
उहाँले तामाङ लोककथाहरुको संरक्षण, पुस्तान्तरण एवं दायरा फराकिलो पार्न डिजिटल प्रविधिको प्रयोग आवश्यक रहेको औंल्याउनुभयो ।
नाटक, सिनेमा, युटुब, सामाजिक सञ्जालहरुमार्फत तामाङ लोककथाहरु बाहिर ल्याउन सकिएमा यसको प्रभावकारीता पनि उत्तिकै बढ्ने उहाँको भनाई छ ।
लेखक एवं उपप्राध्यापक कुमारी लामाले रविन्द्र तामाङ र सोनि तामाङद्धारा संकलित तामाङ लोककथाहरुले तामाङ आदिवासी, प्रकृति, पर्यावरणको सम्बन्ध स्पष्ट रुपमा उजागर गरेको बताउनुभयो ।
तामाङ समुदायको इतिहास, संस्कृतिका अभिन्न अङ्गहरू डम्फु, पेङदोर्जे, प्रकृति, पर्यावरणका प्रशस्त प्रसङ्गहरु लोककथाहरुको भेटिएको उहाँको भनाई छ ।
उपप्राध्यापक लामाले कथाहरुमा ज्ञान परम्परा, बोन तथा बुद्ध दर्शनका पक्ष समेत बलियो रुपमा आएको उल्लेख गर्दै यसले कथाहरुलाई बलियो रुपमा उभ्याएको बताउनुभयो ।
साहित्यकार विना थिङले सत्ताभन्दा पर रहेका लोकको कथाको रुपमा यो कथाहरु आफूले पाएको बताउनुभयो । लोककथथाहरु सामाजिक जीवनको ऐतिहासीकता जोडिने उहाँको भनाई छ ।
साहित्यकार थिङले लोकको परम्परा, परिवेशमा मौखिक परम्पराबाट कथा भनिदै आएको समुदायको कथाले सामाजिक, ऐतिहासीक र धार्मिक पक्षलाई समेत छोएको बताउनुभयो ।
उपनिवेशीकरणका कारण समुदायको भाषा, साहित्य, संस्कृतिमाथि प्रहार भइरहेको बेला प्रकाशनमा आएका यो तामाङ लोककथाहरुको बेग्लै महत्व रहेको उहाँले बताउनुभयो ।
लेखक सोनी तामाङले पूर्खाले भन्दै आएको, सुनाउँदै आएको कथाहरु संकलन गरेर पाठमाझ तामाङ लोककथा संगालो ल्याएको जानकारी दिनुभयो ।
उहाँले सँगालोमा सङ्कलन गरिएको ‘नाक थेप्चो स्याल’ शीर्षकको कथा वाचन गर्दै उहिलेको समाजको कथा नै लोककथाको हो भन्ने आफूले बुझेको बताउनुभयो ।
लेखक अनुसन्धानकर्ता एवं तामाङ लोककथा संकलनकर्ता रविन्द्र तामाङले यो कृति सबै समुदायको भएको बताउनुभयो ।
समुदायमा प्रचलित लोककथाहरुलाई संकलन गरी प्रस्तुत गरेको जनाउँदै उहाँले यो कथाहरु सबैको भएको धारणा राख्नुभएको हो ।
तामाङ गाउँबस्तीहरुमा पुगेर आफूले खोज अनुसन्धान एवं संकलन गरी ल्याएका कथाहरु विभिन्न माध्यमहरुमा आउँदा स्रोत उल्लेख गरेको नपाईएको भन्दै उहाँले यसप्रति भने दुख व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका तामाङ पत्रकार संघका संघीय अध्यक्ष नेत्र तामाङले तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका रविन्द्र तामाङले यस खालको कृति ल्याएर पछिल्ला पुस्तालाई लेखनमा उत्प्रेरित गरेको बताउनुभयो ।
उहाँले तामाङ लोककथाहरु माथि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि हुने, सहभागि भएर महत्वपूर्ण विचार व्यक्त गर्ने प्रमुख अतिथि एवं वक्ताहरुमा आभार व्यक्त गर्नुभयो ।

तामाङ पत्रकार संघका महासचिव सरस्वती तामाङले सहजिकरण गर्नुभएको कार्यक्रमको शुभारम्भमा स्वागत मान्तव्य राख्ने क्रममा संघका वरिष्ठ उपाध्यक्ष तीर्थमान बलले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।
तामाङ सभ्यता, संस्कृति र इतिहासका कुरा आउने भएकोले तामाङ लोककथाहरुको महत्व रहेको जनाउँदै वलले समुदायको मुद्धा सञ्चार माध्यममार्फत उजागर गर्न क्रियाशिल तामाङ पत्रकाहरुको संगठन तामाङ पत्रकार संघले यस खालको कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा पुस्तक प्रकाशनको शिलशिलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई सधन्यवाद प्रमाणपत्र प्रदान गरिएको थियो ।
लेखक एवं कथा संकलकद्धयको बैवाहिक वर्षगाँठ समेत परेकोले कार्यक्रमको अन्त्यमा बैवाहिक वर्षगाँठ उत्सव समेत मनाईएको थियो ।
विं.स.२०७२ मा तामाङ लोककथा सँगालोको पहिलो संस्करण निकालेको रत्न पुस्तक भण्डारले नै यो पटक केहि लोककथाहरु थप गरी तेस्रो संस्करण प्रकाशनमा ल्याएको हो ।
सँगालोमा २३ वटा सामाजिक, १७ वटा ऐतिहासिक र ३१ वटा धार्मिक लोककथाहरु संग्रहित छन् । १ सय ५५ पृष्ठको पुस्तकको मुल्य ३२५ रुपैयाँ रहेको छ ।
सँगालोमा २३ वटा सामाजिक, १७ वटा ऐतिहासिक र ३१ वटा धार्मिक लोककथाहरु संग्रहित छन् । १ सय ५५ पृष्ठको पुस्तकको मुल्य ३२५ रुपैयाँ रहेको छ ।
लेखक एवं कथा संकलकद्धयको बैवाहिक वर्षगाँठ समेत परेकोले कार्यक्रमको अन्त्यमा बैवाहिक वर्षगाँठ उत्सव समेत मनाईएको थियो ।















