काठमाडौं–ताम्बा ज्ञान तथा संस्कृतिको प्रवद्र्धनका लागि बौद्धमा आयोजित पाँच दिने ताम्बा प्रशिक्षण तथा सम्मेलन मंगलबार सम्पन्न भएको छ । ताम्बा संघ नेपालले बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा आयोजना गरेको प्रशिक्षण सफल भएको समितिका अध्यक्ष राजकुमार लामाले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै अध्यक्ष लामाले तामाङ संस्कृतिमा ताम्बा परम्परालाई मुख्य प्राथमिकता दिएर कार्ययोजना बनाए अनुसारको कार्यक्रम सफल भएको बताउनुभएको हो । उहाँले बौद्ध धर्म र तामाङ संस्कार संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका लागि योजनाहरू कार्यन्वयन गर्ने क्रममा ताम्बा प्रशिक्षण पनि एक उदाहरण भएको उल्लेख गर्नुभयो ।

समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले तामाङ संस्कृति समृद्ध रहेको बताउँदै पछिल्लो समय देखिएका विकृतिहरूलाई भने निरुत्साहित गर्नुपर्ने बताउनुभयो । तामाङ समाजको तीन खम्बा मानिएको ताम्बा, बोन्वो, लामा मध्ये ताम्बा एक रहेको जनाउँदै उहाँले मौलिक परम्परा अनुसार विवाहमा टोटलाको फुलको माला प्रयोग गर्नुपर्नेमा पैसाको माला लगाउनु पनि विकृति भएको बताउनुभयो ।

तामाङ मौलिक संस्कृतिलाई पुनर्जीवित गर्न ताम्बाहरूले अग्रणी भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।

यसैगरी पूर्वमन्त्री एवं संघका सल्लाहकार दावा लामाले तामाङका पूर्वजहरु पुर्खा मात्रै नभए उहाँहरु हाम्रा ताम्बा, बोन्वो, बैज्ञानिक समेत रहेको बताउनुभयो । उहाँले ताम्बाहरुले सेरप कइरनमा मात्रै केन्द्रित नभई ताम्बाको ज्ञानलाई ज्ञान सत्ता संचालनसम्म ध्यान दिएर हेर्नुपर्ने सुझाव दिनुभयो ।

मुख्य प्रशिक्षक मानवशास्त्री डा. मुक्तसिंह तामाङले युवा ताम्बाहरूले यस प्रशिक्षणबाट आवश्यक ज्ञान प्राप्त गरेको बताउनुभयो ।

सहभागीहरूले यो कार्यक्रम उपयोगी रहेको बताउँदै यस्ता अभियान निरन्तर रूपमा आयोजना गरिनुपर्ने माग गरे । यस खालको प्रशिक्षणले तामाङ समुदायको सांस्कृतिक विरासत संरक्षण र आधुनिक चुनौतीहरूसँग सामंजस्य कायम गर्न मद्दत गर्ने सहभागिहरुको भनाई छ ।

संघका अध्यक्ष धावावाङ्गेल मोक्तानले पाँच दिने प्रशिक्षणबाट सहभागिहरुलाई थप ज्ञान दिलाउन सफल भएको बताउनुभयो ।

जेठ २२ देखि आयोजित प्रशिक्षण तथा सम्मेलनमा देशभरका २१ जिल्लाबाट ताम्बा तथा तामाङ समुदायका धार्मिक विद्वानहरु सहभागी भएका थिए ।

Photo:  Santosh Yonjan 

प्रतिक्रिया दिनुहोस !