तेस्रो सेमरी छोरङान पदक सम्मान प्रदान गरिने

काठमाडौं–तामाङ चलचित्र संघ नेपालले आफ्नो १६ औं स्थापना दिवस यहि जेठ २४ गते शनिबार विविध कार्यक्रमका साथ मनाउने भएको छ ।

२०६५ सालमा स्थापना भएको संघले शुभकामना आदानप्रदान, तेस्रो सेमरी छोरङान पदक सम्मान लगायतका सम्मान प्रदान, सांस्कृतिक कार्यक्रमका साथै चलचित्र विकास बोर्डसँगको सहकार्यमा निर्मित तामाङ छोटो मौलिक चलचित्र ‘अस्तु’को विशेष प्रदर्शन कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने भएको हो ।

स्थापना दिवस तथा वार्षिक उत्सव चलचित्र विकास बोर्डको हल चावहिलमा भव्य समारोहका बीच मनाउन लागिएको संघका उपाध्यक्ष विनायक तामाङले जानकारी दिनुभयो ।

जयनन्द लामाको योगदानबाट भावि पुस्ताले केहि सिक्न प्रेरणा जगाउन, इतिहासको सम्मानका लागि लामाद्धारा निर्देशित पहिलो तामाङ चलचित्र सेमरी छोरङानको नामबाट अवार्ड,पदक तथा सम्मान,कार्यशाला गोष्ठीका साथै छोटो चलचित्र निर्माण र प्रदर्शन गर्ने कार्य निवर्तमान अध्यक्ष कुमार मोक्तानको कार्यकालबाट शुरुवात गरिएकोमा यो पटक पनि यस खालको रचनात्मक कार्यक्रमले निरन्तरता पाउने भएको हो ।

मोक्तानको पहिलो कार्यकालमा तत्कालिन रोशी गाउँपालिकाको सहयोगमा निर्मित छोटो चलचित्र ‘सामाजिक सञ्जाल’ प्रदर्शन गरिएको थियो भने दोस्रो कार्यकालमा ‘ब्रेल्साङ’ निर्माण र प्रदर्शन गरिएको थियो ।

कलाकार , निर्देशक, प्राविधिकहरु बीच सीपको विकास,  आदानप्रदानका लागि चलिचत्र विकास वोर्डसँग सहकार्य, मौलिक लघु चलचित्रको निर्माण अवधारणा भने जेनिश लामा नेत्रृत्वको कार्यकालमा ल्याइएको थियो ।

संघले गत वर्ष जयनकुमार मोक्तान र रञ्जिता ब्लोनलाई ‘दोस्रो सेमरी छोरङान पदक सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र, गीत, संगीत तथा कला क्षेत्रका व्यक्तित्व, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिहरुको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको संघका महासचिव उत्तर लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !